न्युरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आएको छ।
बन्द भएको वर्षौंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो।
शुक्रबारदेखि सञ्चालनमा आएको रञ्जना सिनेमामा ३ वटा अडिटोरियम छन्। १३०, १८० र २५१ सिट क्षमताका भिन्नाभिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुविधाका साथ सञ्चालनमा आएको छ।
सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरीय बनाउन फोरके प्रोजेक्सन राखिएको छ। यस्तै नेपालमै पहिलो पटक एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको सिनेमा हलले दाबी गरेको छ।
थ्रिडी चलचित्रका पारखीहरूलाई लक्षित गरी हलमा थ्रिडी सिस्टम पनि जडान गरिएको छ।
वि.सं २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हल मध्येको एक हो। कुनै समय चलचित्र प्रदर्शनको लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका हुन्।
२०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको हो। सोही समयदेखि रञ्जना सिनेमा पुनः सञ्चालनको तयारी भएको थियो।
विभिन्न ग्रुपले उक्त चलचित्र हल सञ्चालनका लागि तयारी गरेका थिए।