सांगीतिक महोत्सव ‘इकोज इन द भ्याली’ कीर्तिपुरमा सम्पन्न भएको छ। मार्च महिनामा हुने वार्षिक यस सांगीतिक महोत्व शनिबार कीर्तिपुरका विभिन्न स्थानमा भएको हो।
बिहान ९ः३० देखि बेलुकी ७ः३० सम्म १० घण्टा निरन्तर आयोजना भएको कार्यक्रम कीर्तिपुरको बाघ भैरवमा रहेको प्रजा दबु, उमा महेश्वरको डबली, लयकुको राज दबु र तःननि डबलीमा आयोजना भएको थियो।
नेपालको पूर्वदेखि पश्चिमसम्मको आवाज र अन्तराष्ट्रिय प्रस्तुतिले कीर्तिपुर शनिबार गुल्जार भएको थियो।
सन् २०१७ देखि सुरू इकोजको उद्देश्य हो– हराउँदै गएका आवाज उजागर गर्नु र पुनरूत्थान गर्नु। त्यही उद्देश्यका साथ हरेक वर्ष विभिन्न स्थानमा यो कार्यक्रम आयोजना हुन्छ।
कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै फोटो प्रदर्शनी, सम्पदा यात्रा, कविता वाचन लगायत गतिविधी पनि भएको थियो।
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ