भारती गौतमद्वारा लिखित संस्मरण कृतिलाई २०७७ सालको 'उत्तम शान्ति पुरस्कार' दिइएको छ। यही शनिबार उनलाई यो कृति प्रदान गरिएको हो।
गत जेठ १२ मा प्रदान गरिनुपर्ने कृति कोभिडका कारण ढिलो भएकाले शनिबार प्रदान गरिएको हो। २७ वर्षको उमेरमै 'श्रष्टा र साहित्य' नामक अन्तर्वार्ता कृतिमा मदन पुरस्कार प्राप्त गरेका उत्तम कुँवर कुनै समय 'रूपरेखा' नामक प्रख्यात साहित्यिक पत्रिकाका प्रकाशक र सम्पादक भएका थिए। ४३ वर्षको उमेरमै दिवंगत भएका कुँवरको देहावसानपछि उनकी श्रीमती शान्ति कुँवरले यो पुरस्कारको स्थापना गरेकी हुन्।
उहाँको पनि देहावसान भएपछि 'उत्तमशान्ति पुरस्कार' भनेर पुनर्नामाकरण गरिएको हो। हाल १ लाख राशि रहेको यो पुरस्कार वर्षभरि प्रकाशित गैरआख्यान कृतिमध्ये चयन समितिबाट उचित ठानिएको कुनै एक कृतिलाई प्रदान गरिन्छ। विगतमा यस पुरस्कारबाट मंजुल, लैनसिंह वाङ्देल,अम्बर गुरूङ, कृष्ण धरावासी, झमक घिमिरे, रामेश, गणेश रसिक, नारायण ढकाल, भुपिन, रविन्द्र समिर, कर्ण शाक्य, दुर्गा घिमिरे लगायत सम्मानित छन्।
२०७८ सालभरिमा प्रकाशित गैरआख्यान कृतिलाई आउँदो जेठ १२ गते पुरस्कार समर्पण गरिनेछ र त्यसका लागि 'उत्तम कुँवर स्मारक पुरस्कार गुठी' ले कृतिको आह्वान गरिसकेको छ।