पर्दापछाडिका हिरो
केही समयअघि 'चिसो मान्छे' फिल्मको पोस्टरले धेरै दर्शकको ध्यान तान्यो। नाकमा बुलाकी, गलामा पहेँलो पोते, चौबन्दी र गुन्यु लगाएकी अभिनेत्री स्वस्तिमा खड्काको पोस्टरको खुबै चर्चा भयो। स्वस्तिमा सुदूरपश्चिमको कुनै पहाडी जिल्लाकी महिलाको हुलियामा देखिन्छिन्।
यो पोस्टरले फिल्मको कथानक कल्पना गर्ने ठाउँ दिएको छ। फिल्मको कथानकबारे प्रारम्भिक कल्पना गर्ने मुख्य स्रोत पोस्टर नै हो।
यस्तै पोस्टर बनाउनेमध्ये भीमसेन शाही एक हुन्। उनी फिल्मको प्रचारका लागि कथानक झल्काउने पोस्टर बनाउँछन्।
एउटा फिल्म बनाउन अभिनेता–अभिनेत्रीको भूमिका जति हुन्छ त्यति नै पर्दापछाडि काम गर्नेहरूको हुन्छ। फिल्म बनाउन पर्दापछाडिका हिरो हुन् उनीहरू। यसअघि सेतोपाटीले 'पर्दापछाडिका हिरो' मा मेकअप आर्टिस्ट सरोज बुढाथोकीको कथा भनेको थियो।
आज हामी पोस्टर डिजाइनर भीमसेनको कथा भन्दैछौं।
बर्दियामा जन्मिएका भीमसेन सानैदेखि चित्र बनाउँथे। कापीमा पेन्सिलले चित्र बनाउनु उनको रूचिको काम थियो। उनका बुबा पनि चित्र बनाउँथे र घरको भित्तामा सजाउँथे। बुबाको सिको गर्दागर्दै भीमसेन पनि चित्र बनाउन जान्ने भए।
चार जना दिदीपछिका एक्ला भाइ थिए भीमसेन। उनीहरूका बुबा भारतीय सेनामा थिए। उनी आफ्नो छोरो आफूजस्तो सैनिक बनोस् भन्ने चाहँदैनथे। 'मेरो छोराले मैले गरेको काम किन गर्नु, कुनै नयाँ काम गरोस्' भन्ने चाहन्थे।
भीमसेनले भने बाबुकै पदचाप पछ्याए, तर सैनिक सेवातिर होइन, चित्रकलातिर।
उनी सात कक्षातिर पुग्दा नै पेन्सिलले चित्र बनाउन सिपालु भइसकेका थिए।
'साथीभाइका लागि विज्ञानका चित्र दुरुस्तै बनाइदिन्थेँ,' भीमसेन सम्झिन्छन्, 'स्कुलका शिक्षकका लागि पनि चित्र बनाइदिन्थेँ। शिक्षकहरूले अलिअलि पैसा पनि दिनुहुन्थ्यो। अहिले सम्झिँदा भर्खर जस्तो लाग्छ।'
दस कक्षामा पुग्दा उनी 'साइनबोर्ड' लेख्न सक्ने भए। उनले केही होटलका साइनबोर्ड बनाइदिए। यसबापत खाजा खान पाए। उनी स-साना ढुंगा जोडेर पनि चित्र र अनेक नक्सा बनाउँथे। यी देखेर कसैकसैले त उनलाई भविष्यको इञ्जिनियर भन्दै फुर्क्याउँथे।
चित्रमा रूचि भए पनि कलेज पढ्न थालिसक्दासम्म भीमसेन आफ्नो लक्ष्यबारे अन्योल नै थिए। अचानक उनका बुबाको मृत्यु भयो। यो घटनाले पारिवारिक जिम्मेवारीको ढाँचा बदलिदियो। परिवारको लगभग सबै जिम्मेवारी आमाको काँधमा आइलाग्यो। भीमसेनलाई आमालाई सघाएर पारिवारिक जिम्मेवारीको बोझ हलुका बनाउनुपर्छ भन्ने बोध भयो।
'अब मैले पनि केही न केही काम गर्नुपर्छ, आमालाई सघाउनुपर्छ भन्ने लाग्यो,' सेतोपाटीसँग उनले भने, 'खानलाउन त पुगेकै थियो। तर जीवनमा केही नयाँ काम गर्नुपर्छ भन्ने लाग्यो।'
भीमसेनले उच्च शिक्षा पूरा गरे। उनका केही साथी डाक्टर, चार्टर्ड एकाउन्टेन्ट, इञ्जिनियर बन्ने तयारीमा थिए। विद्यार्थीकालमै 'अवतार' नामको फिल्म हेर्दा भीमसेनलाई सेना बन्ने इच्छा जागेको थियो। फेरि आफ्ना बुबाको चाहना सम्झे। अनि आफूलाई चित्रकलामै समर्पित गर्ने अठोट गरे।
यही समयमा आफ्ना एक जना दाइको सहयोगमा थप पढाइका लागि उनी मुम्बई गए। घरमा खर्च माग्ने कुरा थिएन, राति मजदुरी गरेर जुटाए।
'काम ठूलोसानो हुँदैन। म राति कपडा बोक्ने, वासिङ मेसिनमा हाल्ने र निकाल्ने काम गर्थेँ,' भीमसेनले भने, 'यही कामबाट मैले पहिलो महिना तीन हजार रूपैयाँ पारिश्रमिक पाएँ।'
उनी दिउँसो पढ्न जान्थे, दिनभरि कम्प्युटरमा चित्र कोर्थे, राति खर्च जुटाउँथे। उनका दक्षिण भारतीय एक जना शिक्षक थिए। उनले भीमसेनको रूचि थाहा पाएर भने, 'तिम्रो रूचि यो काममा छैन, चित्रमा छ। तिमी एकाउन्टमा ध्यान नदेऊ, चित्रतिर जाऊ।'
यसपछि भीमसेन पेन्टिङ कक्षा लिने तयारीमा लागे। मुम्बईको जेजे आर्ट स्कुलका शिक्षक द्यानेश्वर जगदलेले भीमसेनलाई डिजिटल पेन्टिङतिर डोर्याए।
'जगदले सरले मलाई एनिमेसनभन्दा डिजिटल पेन्टिङ गर भनेर बाटो देखाउनुभयो,' उनले भने, 'एनिमेसनमा समय बढी लाग्ने भयो। डिजिटल पेन्टिङमा एक वर्ष मात्र लाग्ने भएकाले म यतै लागेँ।'
छिटो काम सिकेर रोजगारीमा लाग्नु थियो। चित्र कोर्न जान्दथे तर पोख्त थिएनन्। सहपाठीहरू चित्रकला पढेरै आएका थिए।
'नेपालमा हुँदा मलाई आफू खतरा नै लाग्थ्यो। मुम्बईमा त मैले केही पनि जानेको रहेनछु भन्ने थाहा पाएँ,' भीमसेन भन्छन्,' 'जे भए पनि मैले अठोट त्यागिनँ, आँट गरे।'
उनले रातिको काम छाडे। घरबाटै खर्च मगाए। पेन्टिङ सिक्न दैनिक छ घन्टा रेल यात्रा गर्नुपर्थ्यो। यो यात्राको समय पनि खेर जान दिएनन्, चित्र अभ्यास गरे। यात्रुहरूका दुरुस्त चित्र बनाउँथे।
एक पटक उनले 'यन्त्र मानव' को चित्र बनाउने गृहकार्य पाएका थिए। उनको चित्र सबैको भन्दा फरक र नयाँ भइदियो। यसैबापत उनले 'रोयल' टाइटल पाए। यसपछि उनी आफ्ना चित्रमा 'रोयल भीमसेन' लेख्न थाले।
डिजिटल पेन्टिङको कोर्स पूरा भयो। लगत्तै उनले जगदकै सहयोगमा 'फेमस स्टुडियो' मा प्रवेश पाए। हलिउड र बलिउडका पोस्टर डिजाइनको काम हुने फेमस स्टुडियोमा भीमसेनले तीन महिना प्रशिक्षार्थीका रूपमा काम गरे।
यो अवधिमा उनले आफूलाई खरो उतारे। पैसाको दुःख छँदै थियो। पारिश्रमिक आउने ठाउँ थिएन। प्रशिक्षण सकिएपछि गुगलमा रोजगारीको अवसर खोज्ने र आवेदन दिँदै दिन बिताउन थाले। अन्ततः उनले एउटा कम्पनीमा डिजिटल पेन्टिङको काम पाए। पारिश्रमिक चित्तबुझ्दो नै भयो।
'म अफिसकै सानो कोठामा बस्न थालेँ। छ जनाको काम एक्लै गर्थेँ,' भीमसेन भन्छन्, 'म डिजिटल टिमको लिडर भएँ। मेरो आत्मविश्वास बलियो भयो।'
नयाँ कुरा सिक्ने उद्देश्यले उनी डिजिटल चित्रबाट सामाजिक सञ्जालतिर आए। उनी ग्राफिक डिजाइनर थिए। उनको टिमले पाँचवटा फिल्ममा काम पायो। उनको रफ्तार बढिरहेको थियो।
त्यही बेला नेपालमा भुइँचालो आयो। उनले आफ्नो पारिश्रमिकबाट पीडितलाई सहयोग पनि गरे। तर भूकम्पपछि उनलाई त्यहाँ बसिरहन मन भएन, नेपाल फर्किने चाहना भयो। मुम्बईमा अवसर भए पनि नेपालमै काम गर्ने अठोट गरे।
२०७२ साल मध्यतिर उनी फर्किए। कामको अवसर खोजीक्रममा उनको भेट निर्देशक विकास न्यौपानेसँग भयो। विकासमार्फत 'झुम्की' फिल्मका निर्देशक अपिल विष्टसँग भेट भयो। त्यसपछि भीमसेनले झुम्कीका लागि सामाजिक सञ्जालतर्फको काम गरे जहाँ उनले फिल्मको पोस्टर प्रचार गर्नुपर्थ्यो।
यसपछि भीमसेनले नेपाली फिल्महरूमा पोस्टर बनाउने काम पाउन थाले। काम बढ्दै गयो। पछि उनले 'फिल्म पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्ट' नामको कम्पनी दर्ता गराए। कार्यालय काठमाडौंको बुद्धनगरमा छ। यहीँबाट उनी दर्जनभन्दा बढी सहकर्मीको सहयोगमा पोस्टर डिजाइन गर्छन्, सामाजिक सञ्जालमा प्रचार गर्छन्।
कामको प्रकृतिले पोस्टर डिजाइनर भनिए पनि उनी आफूलाई डिजिटल आर्टिस्ट भनेर चिनाउँछन्।
त्यसपछि 'जात्रा' फिल्मको पोस्टर डिजाइन काम गरेसँगै 'कौसिद', 'चिसो मान्छे', 'परस्त्री' लगायत ६५ फिल्म, ६ सर्ट फिल्म र दुई वेब सिरिजमा पोस्टर डिजाइनको काम गरे। यसबाहेक ग्राफिक डिजाइनरका रूपमा मराठी फिल्महरूको पोस्टर सामाजिक सञ्जालमा प्रचारको काम पनि गरेका छन्।
उनले पोस्टर डिजाइनमा गरेको पहिलो फिल्म 'जात्रा' हो। यसको पहिलो पोस्टरमा कलाकारहरूको दुई स्वरूप देखाइएको छ- पैसा पाउँदा र पैसा पाइसकेपछिको। पात्रहरूको दुई चरणलाई समेटेर उनले एक पोस्टर बनाएका थिए।
भीमसेनका अनुसार यसरी कलाकारको अनुहार राखिएकोलाई ग्राफिकल पोस्टर भनिन्छ। जात्राकै अर्को पोस्टर उनले कलाकारको अनुहार नराखी डिजाइन गरेका छन्। यसलाई मिनिमल पोस्टर भनिन्छ।
'जात्रा' को मिनिमल पोस्टर डिजाइन अनुभव सुनाउँदै उनले भने, 'यसमा मैले अनुहार नराखी पात्रहरू चिनाउनुपर्ने थियो। त्यसका लागि पात्रहरूको पेसा झल्काउने गरी काइँयो र कपाल काट्ने कैंची, स्टेसनरीका सामान र कपडाको चिह्न राखेँ। अनि फिल्मको लोगो।'
भीमसेन पोस्टरका स-साना विवरणमा ध्यान दिन्छन्, जस्तै अक्षरको फन्ट। पोस्टरमा सामान्य चलिआएको भन्दा पनि फिल्म सुहाउँदो र सिर्जनात्मक फन्ट राख्नुपर्ने उनी बताउँछन्।
'फन्टमा राम्ररी ध्यान दिइएन भने पोस्टर फिक्का हुन्छ। त्यसैले मैले स्केच गरेरै त्यसलाई तयार गर्छु,' उनले भने, 'पोस्टरमा फिल्मको आकर्षक कुरा देखाउने प्रयास गर्छु।'
एउटा सार्वजनिक नभइसकेको फिल्म छ 'जुरी'। भीमसेनका अनुसार यसको पोस्टरले उनीहरूको समूहमा खुबै प्रशंसा पाएको थियो। पूरै डिजिटल स्केच गरेर बनाइएको यो पोस्टरले फिल्म पुनर्जन्मबारे भएको बुझाउन सक्षम भएको उनी बताउँछन्।
'पर्दापछाडिका हिरो' का रूपमा काम गरिरहेका भीमसेनको यो यात्रामा बाधा नआएको होइन। रफ्तार चलिरहेका बेला कोरोना भाइरस संक्रमणले सबै काम ठप्प भयो। घरभाडा तिर्न समेत मुश्किल भयो। हरेस भने खाएनन्। लकडाउन खुकुलो हुँदै गएपछि उनको पेसा बौरिन थाल्यो।
यति बेला तनमनले फिल्मका लागि दर्शक तान्ने पोस्टर डिजाइनमा व्यस्त छन्। आफ्नो काममा सन्तुष्ट छन्।
आफ्नो सन्तुष्टि जताउने उदाहरण दिँदै भन्छन्, 'मैले मुम्बईमा काम खोज्ने दिनहरूमा बलिउड अभिनेता शाहरूख खानको कम्पनी रेड चिलिजमा पनि आवदेन दिएको थिएँ। थुप्रै इमेल लेखेँ तर जवाफ आएन। नेपालमा मेरो कम्पनी स्थापना भएको एक वर्षपछि भने उताबाट इमेल आएको थियो। उहाँहरूले मलाई मुम्बई नआए पनि यो क्षेत्र बुझेको राम्रो कम्पनीले आफ्नै ठाउँमा राम्रो काम गर्नुपर्छ भनेर प्रेरणा दिनुभयो। अनि मलाई नेपालमै काम गरेर ठिकै गरेँ भन्ने लागेको छ।'
यस्तै सन्तुष्ट भएको उनको पछिल्लो काम हो 'चिसो मान्छे' को पोस्टर।
पोस्टरमार्फत् फिल्मको कथा परिकल्पना गर्न लगाउने भीमसेन भन्छन्, 'चिसो मान्छेको पोस्टरलाई अन्तिम रूप दिन १५ दिन लागेको थियो। मेहनतअनुसार प्रशंसा पाउँदा खुसी लागेको छ।'
भिडिओः सुसन चौधरी/सेतोपाटी