नेपाल स्रष्टा समाजका सदस्यहरू शुक्रबार तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा आइपुगेका छन्। उनीहरू हिलस्टेशन बन्दीपुरको सामाजिक, सांस्कृतिक र प्राकृतिक सम्पदा अवलोकन गरिरहेका छन्।
स्रष्टाहरूको टोलीमा २५ जना सहभागी रहेको कार्यक्रम संयोजक सुमन थापा ‘संगम’ले जानकारी दिइन्। उनीहरूलाई स्थानीय सामुदायिक होमस्टेमा स्वागत गरिएको थियो।
होमस्टे पर्यटनको अनुभव सँगाल्ने उद्धेश्यले लेखकहरूलाई होमस्टेमा राखिएको छ। शुक्रबार उनीहरूले पुरानो नेवार बस्ती, टुँडिखेल र रेशम खेती अवलोकन गरेका थिए।
साँझ आयोजित कार्यक्रममा कवि/लेखकहरूले आ-आफ्ना रचना वाचन गरे। साहित्यकार नगेन्द्रराज शर्मालाई प्रमुख अतिथि बनाएर गरिएको रचना वाचन कार्यक्रमको सभापतित्व समाजका उपाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गरेका थिए भने कार्यक्रमको सञ्चालक थिए मधु पाठक।
अध्ययन भ्रमणमा समाजका अध्यक्ष विधान आचार्य, पुष्पप्रसाद लुइँटेल, विमल बैद्य, पवन आलोक र डा. शान्तिमाया गिरिसहितका स्रष्टाहरूको सहभागिता छ। उनीहरू शनिबार काठमाडौं फर्कनेछन्।
‘हाम्रो यात्राले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरेका छौं’, कार्यक्रम संयोजक सुमनले भनिन्, ‘यहाँबाट फर्केर कवि/लेखकहरूले विभिन्न मिडियामा लेख्ने बन्दीपुर अनुभवले पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउनेछ।’
स्मरणीय छ, बन्दीपुर तनहुँको पुरानो सदरमुकाम हो। वि.सं. २०२५ मा दमौलीमा सदरमुकाम सारिएपछि बन्दीपुरमा चहलपहल कम हुँदै गएको थियो।
पछि विभिन्न ठाउँमा बसेर स्थापित भएका बन्दीपुरेहरूको प्रयासमा यसले पुर्नजीवन पाएको हो। वि.सं. २०४९ मा शिक्षाविद् चिजकुमार श्रेष्ठको अध्यक्षतामा ‘बन्दीपुर सामाजिक विकास समिति’ गठन गरि यहाँको शिक्षा, स्वास्थ्य र पर्यटन विकास गरिएको हो।