राजीव गुरुङको निर्माण तथा निर्देशनमा फिल्म ‘ग्रहण’ बन्ने भएको छ। आइतबार सिक्किमस्थित गान्तोकमा त्यहाँका सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच फिल्मको औपचारिक घोषणा गरिएको हो।
उक्त समारोहमा फिल्मका कलाकार समेत सार्वजनिक गरिएको छ। फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ। अन्य कलाकार तथा प्राविधिकलाई छिट्टै छनौट गर्ने निर्देशक गुरुङले बताए।
थ्रिलर ड्रामा जनरा रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने भएको छ। भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत छायांकन हुने फिल्मको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रवर्धन बोर्डकी अध्यक्ष पुजा शर्मा, मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ र कलाकारहरू उपस्थित थिए।
सिक्किममा छायांकन गरिने फिल्मले दुवै देशको पर्यटनमा सघाउने मन्त्री शर्माको विश्वास छ। ‘हाम्रो कलाकारलाई देश विदेशमा चिनाउन हामी लागिरहेका छौं। त्यही अनुरुप फिल्म बोर्ड, फिल्म नीति बनिसकेको छ। जसले हाम्रो नीति अनुसार यहाँ फिल्म छायांकन गर्छन्, उनीहरूले एक करोड रुपैयाँ पाउने छन्,’ मन्त्री लोकनाथ शर्माले भने।
सञ्चार सचिव बस्नेतले पनि आफ्नो तर्फबाट टोलीलाई पूर्ण सहयोग गर्ने बताए। उनले भनेका छन्, ‘हामी स्वागत गर्दै तपाईंलाई चाहिने सहयोग गर्न तत्पर छौं। हाम्रो सुन्दरतालाई कैद गर्न आएका फिल्मकर्मीलाई हामी सदैव सहयोग गर्न तयार छौं। यहाँसम्म आइदिनु भएकोमा हामी आभारी छौं।’
अभिनेता विनयले 'ग्रहण' एक लभ थ्रिलर फिल्म रहेको बताए। त्यस्तै, फिल्मको बारेमा बोल्दै अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो फिल्म ‘सोल सिस्टर्स’ ले छायांकन गरेको सम्झिन्।
‘मैंले आफ्नो प्रोडक्सनको सुरुवात नै यहिबाट गरेँ। त्यसैले सिक्किमसँग म जोडिएकी छु। यो फिल्ममा म योगा गुरुको भूमिका निभाउदैछु। फिल्मको स्टोरी लभ, थ्रिल, ड्रामा मिश्रित भएकाले मैले धेरै कुरा खुलाउन मिल्दैन,’ नम्रताले भनिन् ।
हरी हुमागाईंको छायांकन हुने फिल्मलाई प्रविन श्रेष्ठको सम्पादन गर्नेछन्। यसमा विशाल सापकोटाको पटकथा रहेको छ भने कथा निर्देशक गुरुङले नै तयार पारेका हुन्।
‘सानो संसार’ प्रदर्शनको १४ वर्षपछि विनय र नम्रता एकसाथ काम गर्दैछन्।