दुई साताअघि प्रदर्शन भएको साउथ फिल्म ‘आरआरआर’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ। त्यस्तै, नेपालमा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ।
आरआरआरले विश्वभरबाट ९ सय करोड भारू व्यापार गरिसकेको छ। नेपालमा पनि यसले राम्रो व्यापार गरेको बलिउड सञ्चारमाध्यम पिंकभिलाले जनाएको छ।
पिंकभिलाका अनुसार फिल्मले नेपालमा ६ करोड ६६ लाख भारू माथि व्यापार गरेको छ। रिपोर्टमा लेखिएको छ, 'नेपालमा आरआरआर एकदमै राम्ररी चलिरहेको छ।'
भारतीय सञ्चारमाध्यमहरूको खबर मान्ने हो भने आरआरआरले नेपालमा साढे १० करोड रूपैयाँको व्यापार गरिसकेको छ।
तर नेपालका लागि आरआरआरका वितरक मनोज राठीले फिल्म अहिलेसम्म नेपालमा नाफामा नगएको बताउँछन्।
‘हामीले फिल्मको व्यापार खुलाएका छैनौं। अझै पनि फिल्म नाफामा गएको छैन,’ वितरक मनोज राठीले सेतोपाटीसँग भने।
एसएस राजामौलीको निर्देशनमा बनेको फिल्ममा जुनियर एनटिआर, रामचरणसँगै बलिउड अभिनेत्री आलिया भट्टको अभिनय रहेको छ। यस्तै अजय देवगनले अतिथि भूमिका निभाएका छन्।
तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जीवनीबाट प्रभावित आरआरआरलाई दर्शकले अत्यधिक मन पराएका छन् ।
फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। ब्रिटिसले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिस विरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो।