गत शुक्रबारदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘हेल्लो जिन्दगी’लाई मल्टिप्लेक्स हलमा शो पाउनै मुस्किल भयो। केही मल्टिप्लेक्स हलले न्यून शो दिएका थिए। दर्शक नआएको भन्दै मल्टिप्लेक्सले हेल्लो जिन्दगीलाई हटाइसकेका छन्।
‘हेल्लो जिन्दगी’लाई हटाएर मल्टिप्लेक्सले दक्षिण भारतीय फिल्म ‘आरआरआर’लाई शो दिएका छन्। तर केही सिंगल थिएटरले भने ‘हेल्लो जिन्दगी’लाई निरन्तरता दिइरहेका छन्।
फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहोराले आफ्नो फिल्म दक्षिण भारतीय फिल्मको चेपुवामा परेको बताए। ‘अष्ट नारायण, गोपीकृष्ण, गुणलगायत भ्याली बाहिर फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। जतिले हेर्नु भएको छ, उहाँहरूले राम्रो प्रतिक्रिया दिनु भएको छ। तर, फिल्मले जति शो पाउनु पर्ने थियो त्यति पाएन,’ उनले सेतोपाटीसँग भने।
उनले फिल्म प्रदर्शन हुनुभन्दा अगाडी फिल्मका कलाकारले प्रचार प्रसारमा साथ नदिएको भन्दै गुनासो पोखेका थिए। त्यही अभाव उनलाई आजसम्म पनि खड्किएको छ।
‘आफुले खेलेको फिल्मलाई कलाकारहरुले बेवास्था गरिरहेका छन्। सबै मिलेर फिल्म क्षेत्रलाई अगाडी बढाउनु पर्ने बेलामा कलाकार उपस्थित नहुँदा अभाव त भइहाल्छ नि,’ उनले भने।
जति नै चेपुवामा परेपनि आफुले हार नमानेको बताउँदै उनले भने, ‘यो मेरो पहिलो फिल्म पनि होइन र अन्तिम पनि होइन।’ उनले यो फिल्म भन्दा अघि ‘भैरे’ निर्देशन गरेका थिए।
एभरेष्ट सूर्य बोरोराले निर्देशन गरेको फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सन विक्रम राई, एभरेष्ट सूर्य बोहरा, विक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त र सनमकुमार बैराग लगायतको अभिनय छ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्म नेपाल र बेलायतमा खिचिएको हो।फिल्मलाई विक्रम डि जोशीले निर्माण गरेका हुन्।