अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन्। मंगलबार नीता र हरिहरले सलोनसँग कागजी सम्झौता गरेका हुन्।
अभिनेत्री नीताले सलोनलाई फिल्ममा स्वागत गर्न पाउँदा उत्साहित भएको बताइन्। ‘फिल्ममा सलोनजीको मुख्य भूमिका छ। उहाँलाई मित्रताको कथामा सुहाउने भएको हुँदा हामीले लिएका हौं,’ उनले सेतोपाटीसँग भनिन्।
फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ।
नीता फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्दैछन्। द्वन्द्व निर्देशकको रुपमा परिचित उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन्।
८० दिनको कार्य तालिका बनाउँदै साउनबाट छायांकनमा जाने तयारी रहेको अभिनेत्री नीताले बताइन्।
नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुनेछ।