नमूना कलेज अफ फेसन टेक्नोलजीले ग्राजुएसन फेसन शो गरेको छ।
१६औं संस्करणको रूपमा प्रस्तुत गरिएको जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘अद्धितिय प्रतिविम्ब’ शीर्षकमा विद्यार्थीले फेशन कला देखाएका थिए।
काठमाडौंको होटल सोल्टीमा आयोजना गरिएको उक्त शो मा साँझको समय छिप्पिदै जाँदा र्याम्पमाथि विस्तारै मोडलको चहलपहल बाक्लिँदै गएको थियो र एक पछि अर्को गर्दै मनमोहक फेसनशैलीका विविध रूप रंग, स्वरुप र सृजनासँग उपस्थित फेसन पारखीहरु साक्षात्कार हुँदै गए।
नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरसहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा ११ वटा विभिन्न अवधारणाबाट प्रेरित ८२ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएको थियो ।
ती सुन्दर पहिरनका परिकल्पनाकार एवं सृजनाकर्ता पनि ८२ जना नै थिए। हरेक प्रस्तुति अन्तर्गत अन्त्यमा सोही कलेक्सनको मास्टरपीसका रुपमा क्रिएटिभ डिजाइनलाई र्याम्पमा उतारिएको थियो।
२३ जना युवती मोडलहरु र ८ जना युवा मोडलहरुको प्रस्तुतिमा सम्पन्न भएकोे उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन संचारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले सम्हालेका थिए।
करिब तीन घण्टासम्म चलेको फेसन शो मा लेदर तथा फरसित प्रभावित हाय फर नेट, ओरिगामीबाट प्रेरित शैली, जेन्डर फ्लुडका अवधारणा, हेभेन्ली बडीजबाट प्रेरित शैलीहरु, पिसेस् अफ ड्रिम, टाइम स्ट्रेटममा केन्द्रित पहिरनमा मोडलहरू सजिएका थिए।
यसैगरी बोट विरुवा र तीसंग जोडिएको अन्डर ग्राउन्ड जीवन, समुद्री जीवनको शैली, घृणा र प्रेमसित जोडिएको मनोभावहरु, राशिबाट प्रभावित स्वरुपहरु, नारी व्यक्तित्व र फूलको आकर्षणको समायोजनलाई पहिरनको स्वरुपमा फेशन डिजाइन वन्ने सपना वोकेका नमूना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको अन्तिम परिक्षाको रुपमा उक्त ड्रेस निमार्ण गरेका थिए।