नयाँ वर्षको अवसरमा, वैशाख १ गते झापाको दमकमा नेपथ्यले प्रस्तुती दिने भएको छ। कोरोना महामारी र प्रतिबन्धका कारण करिब दुई वर्ष मञ्च प्रवेश गर्न सम्भव भएन। तर अहिले अवस्था सामान्य भएसँगै नेपथ्येले आफ्नो संगीत प्रस्तुती दिन लागेको हो।
दमकको इँटाभट्टा स्कुल अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्यले प्रस्तुती दिदैँछ। यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितीमा त्यसै मैदानमा प्रस्तुती दिएको थियो।
‘संगीतप्रेमी दर्शकहरूका निम्ति हामीले यसपाली पनि नेपथ्यलाई उत्तिकै भब्यता पूर्वक उभ्याउने तयारी गरेका छौं,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्य प्रेमीलाई नयाँपन महशुस गराउने थप जमर्को पनि हुनेछ।’
भौगोलिक अवस्थिती, राजनीतिक वातावरण र सम्पर्कका आधारमा पछिल्लो समय दमक पूर्वाञ्चलकै अर्को केन्द्रका रूपमा विकास हुँदैछ। पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगर हुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिती जनाएका थिए। दमक सहरमा नेपथ्यको यो पाँचौ प्रस्तुती हुँदैछ।
यसभन्दा अघि नेपथ्यले २०७६ फागुन १७ गते काठमाडौंंस्थित भृकुटीमण्डपमा कन्सर्ट गरेको थियो। यसपटकको नेपथ्य कार्यक्रम दुई वर्ष पछिको अन्तरालमा हुँदैछ।
‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जटिल बन्दै गएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र संकटग्रस्त मानव जीवन बीचको सम्वन्ध अझ खुल्दै गएँ।’ त्यस समय पनि उनले आफ्नो संगीतको अभ्यासलाई पनि जारी राखेको बताए।
उनका अनुसार दमकमा नयाँ वर्षको दिन आयोजना हुन लागेको कन्सर्टमा नेपथ्यका सर्वकालिक हिट गीतहरू प्रस्तुत गर्नुका साथै केहि नयाँ प्रस्तुतीको तयारी पनि अघि बढिरहेको छ।
दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले पनि आफ्नो तर्फबाट तयारी अघि बढाइसकेको छ। ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो।
‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारीहरू अपनाएका छौं,’ आयोजक नेपाली टचका राज गोश्वामी भन्छन्।
यो कन्सर्टको टिकट बिक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत बिक्री केन्द्र राखिएका छन्। स्थानीय आयोजकका अनुसार टिकटको मूल्य एक हजार रुपैयाँ राखिएको छ। अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिन्छ।