‘मिलेन लेबल तेरो बाउ बोला ए’ र्याप गाएर चर्चामा आएका जी-बब नामले परिचित सुदिप भण्डारीले ‘ए मेरो हजुर ४’ का लागि गीत गाएका छन्। गीतमा उनकै शब्द तथा संगीत रहेको छ।
जी-बबले फिल्ममा गीत गाएसँगै पल शाह प्रकरणमा मुछिएका दुर्गेश थापाको गीत हटाएको चर्चा चलेको छ। तर, फिल्मका निर्माता सुनिल कुमार थापाले फिल्ममा दुर्गेशको गीत नै नभएको बताएका छन्।
‘फिल्ममा दुर्गेश थापाको गीत छँदै छैन, कसरी हटाउनु। उनले फिल्ममा डेढ मिनेट लामो केमियो भूमिका निर्वाह गरेका छन्। अहिलेसम्म हामीले उनलाई हटाउने बारेमा सोचेको छैनौं। फिल्म प्रदर्शन भएपछि दर्शकको कस्तो प्रतिक्रिया आउँछ, त्यही अनुसार काम गर्छौं,’ निर्माता थापाले सेतोपाटीसँग भने।
झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ। फिल्मको कथा निर्देशक झरना थापाले लेखेकी हुन्।
सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन्।
‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ।