गुड फ्राइडे सिनेमा
यो उत्तरी पाकिस्तानको हिमाली क्षेत्रमा बस्ने आमाछोरीको कथा हो। कलिली छोरी जोगाउन आमाले गरेको लडाइँको कथा हो।
दसवर्षे छोरी जैनाव निर्दोष छिन्। उनी समाजको तानाबाना बुझ्ने भइसकेकी छैनन्। आमा र बुवासँगै लुटपुटिन रमाउँछिन्। उनी आमा अल्लाह राखीलाई पढ्न पनि सिकाउँछिन्। आमाछोरी साथीजस्ता छन्।
राखीका श्रीमान दौलत उनीभन्दा धेरै उमेरका छन्। राखी १५ वर्षकी हुँदै उनको निकाह (बिहे) भएको हुन्छ। उनलाई निकाहअघि शहबाज खानले मनपराएका हुन्छन्। शहबाज उनलाई निकाहपछि पनि पाउन चाहन्छन्। उनी दौलतलाई आफूहरूको बाटोबाट हटाउनसम्म खोज्छन्।
तर राखी आफ्नो निकाह भइसकेको भन्दै उनलाई पन्छाउँछिन्।
राखी र जैनावको जीवनका हरेक निर्णय पुरूषहरूले गर्छन्। त्यस्तै एउटा निर्णय हुन्छ, जैनावको निकाहको।
यसबीच दुई दशकदेखि दुश्मनी चलिरहेको अर्को समुदायका मुखिया दौलतकहाँ सुलहको प्रस्ताव लिएर आउँछन्। जैनावको निकाह आफूसँग गरिदिए सुलह हुने उनको सर्त हुन्छ।
जैनावकी आमा राखीलाई यो घटनाले झस्काउँछ। उनी जैनावको जीवन आफ्नोजस्तै होस् भन्ने चाहँदिनन्। तर उनी केही गर्न सक्ने अवस्थामा हुँदिनन् र दौलतसँगै जैनावको निकाहको तयारीमा लाग्छिन्।
निकाहकै दिन राखीले यस्तो निर्णय गर्छिन् जसबाट उनी र जैनावको जीवनमा खतरा आइपर्छ।
यही बेला राखी र जैनावको भेट एक ट्रक ड्राइभरसँग हुन्छ। त्यसपछि यी आमाछोरीको जीवन कसरी अगाडि बढ्छ, त्यसका लागि फिल्म नै हेर्नुहोला।
सन् २०१४ मा रिलिज पाकिस्तानी फिल्म 'दुख्तर' को कथा हो यो। आफिया नथानियलको लेखन, निर्माण र निर्देशनमा बनेको यो फिल्मले थुप्रै अवार्डहरू पाएको छ।
पहिलोपटक टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा रिलिज यो फिल्म पछि बुसान फिल्म फेस्टिभल, लन्डन फिल्म फेस्टिभल, फिल्म्स फ्रम साउथ, साओ पाउलो इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि प्रदर्शन भएको थियो।
यो फिल्म संसारभरका समीक्षकहरूले राम्रो प्रतिक्रिया दिएका थिए। फिल्मले पितृसत्तात्मक समाजमा महिलाहरूले आफ्नो जीवनको निर्णय आफैं गर्न कस्तो संघर्ष गर्नुपर्छ भन्ने देखाएको छ।