प्रदीप भट्टराईको निर्देशन रहने फिल्म ‘महापुरुष’को निर्माण घोषणा भएको छ। आइतबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको निर्माण घोषणा गरेका हुन्।
वैशाख दोस्रो साताबाट छायांकन सुरू हुने फिल्ममा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अनुबन्धित भएका छन्। फिल्ममा श्रेष्ठ र आचार्यसँगै गौरी मल्ल, अरुण क्षेत्रीको पनि अभिनय रहनेछ। अरुणले यसै फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन्।
फिल्ममा अन्य कलाकार र अभिनेत्री छनोट प्रक्रिया चलिरहेको निर्माण टिमले बताएका छन्। यस फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ।
षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने फिल्ममा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन्। फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्।
निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि प्रदीप भट्टराईको निर्देशन रहेको ‘जात्रा र जात्रै जात्रा’ मा सहकार्य गरिसकेका छन्।