‘ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८’ मा यस वर्षको उत्कृष्ट व्यवसायिक फिल्म ‘म यस्तो गीत गाउँछु २’ भएको छ। सोमबार चलचित्र विकास बोर्ड सभा हलमा सम्पन्न उक्त अवार्ड कार्यक्रममा पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले मगरले विजेताहरूलाई अवार्ड हस्तान्तरण गरेका थिए।
कोभिड १९ महामारीका बीचमा फिल्म निर्माण गरी प्रदर्शन गरेका डेढ दर्जन फिल्मलाई सम्मान पत्र वितरण गरिएको थियो।
उत्कृष्ट व्यवसायिक फिल्म बन्न सफल ‘म यस्तो गीत गाउँछु २’ का अभिनेता पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्।नाबालिग गायिकामाथि बलात्कार अभियोग लागेका अभिनेता पल शाह हाल तनहुँ कारागारमा छन्।
त्यस्तै, अभिनेत्री पूजा शर्मा उत्कृष्ट अभिनेत्रीको अवार्डबाट सम्मानित भएकी छन्। यसै फिल्मबाट निर्देशक सुदर्शन थापाले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।
अभिनेता शिव श्रेष्ठको निर्माण कम्पनीले कोरोना महामारीमा पहिलो फिल्म प्रदर्शन गरिएको सम्मान प्राप्त गर्याे। कोरोना महामारीबीच शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भएको थियो। यसै फिल्मबाट नव प्रतिभा विधामा शक्ति श्रेष्ठले अवार्ड प्राप्त गरेका छन्।
सामाजिक विषयवस्तु उठानमा बनेको फिल्म ‘चुरिफुरी’ लाई अवार्ड प्रदान गरिएको छ। फिल्म ‘कठपुतली’ लाई प्रोत्साहन सम्मान प्रदान गरिएको छ।
महमारीमा नेपाली फिल्म चलायमान गराउन महत्वपूर्ण योगदान दिने फिल्म वितरक कम्पनी एफडी कम्पनीबाट सुशील पोखरेल, हल व्यवसायीमा नरेन्द्र महर्जन, फिल्म स्टुडियो विधाबाट बस्नेत स्टुडियोलाई सम्मानपत्र प्रदान गरिएको थियो।