नेपाली फिल्मका केही कलाकारहरू अभिनयसँगै व्यवसायमा पनि सक्रिय छन्। विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीपछि झन् धेरै कलाकारहरू व्यवसायमा हात हाल्न थालेका छन्।
केही कलाकार फिल्मी कामको आम्दानीमा मात्र भर पर्दा आपतकालीन अवस्थामा जोखिम हुने भएकाले व्यवसायमा आकर्षित भएका देखिन्छन्। त्यस्तै अरू केही भने आफ्नो रूचिका कारण पनि यसमा संलग्न भएका छन्।
केही कलाकारहरू महामारी पहिल्यैदेखि व्यवसायमा सक्रिय थिए। केहीले महामारीपछि सुरू गरेका छन्।
आज हामीले फिल्मी कामसँगै व्यवसायमा पनि हात हालेका छ जना कलाकारको सूची यहाँ पेश गरेका छौं।
१. सञ्जोग कोइराला
अभिनेता सञ्जोग कोइरालाको पछिल्लो समय ‘कथा काठमाडौं’ प्रदर्शन भएको थियो। तर उनी पहिल्यैदेखि फिल्म क्षेत्रभन्दा व्यवसायमा सक्रिय र सफल पनि छन्। उनलाई अहिले व्यवसायमा अभिनेत्री वर्षा राउतले समेत साथ दिइरहेकी छन्। वर्षा र सञ्जोग श्रीमान श्रीमती हुन्।
सञ्जोगले काठमाडौंमा रेस्टुरेन्टदेखि इन्टेरियर डिजाइनिङजस्ता क्षेत्रमा पनि व्यवसाय गरिरहेका छन्। उनी ‘बिजनेपा’ नामक कम्पनीका प्रमुख कार्यकारी हुन्। त्यस्तै दरबारमार्गस्थित ‘ह्यासट्याग लाउन्ज’ का प्रमुख पनि हुन्।
अभिनेता सञ्जोगले ‘चिया अड्डा’ नामक कफीसप पनि खोलेका छन्। यसका अहिले काठमाडौं उपत्यकामा दुइटा शाखा छन्। पुरानो चिया अड्डा बानेश्वरबाट शंखमुल जाने बाटोमा थियो। तर पछि यो बानेश्वर, पानी ट्यांकी नजिकै सरेको छ। अर्को शाखा भने लाजिम्पाटमा खुलेको छ। लाजिम्पाटको शाखा लकडाउनपछि खुलेको हो।
सञ्जोगको चिया अड्डामा वर्षासहित निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला र दीपकराज गिरीले पनि सहकार्य गरेका छन्।
यो पनि पढ्नुहोस्ः 'लकडाउनकै कारण चिया अड्डाको शाखा खोल्न पायौं'
२. श्वेता खड्का
अभिनेत्री श्वेता खड्का पछिल्लो समय फिल्ममा त्यति सक्रिय छैनन्। स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग 'कहाँ भेटिएला' फिल्मबाट सिनेक्षेत्रमा प्रवेश गरेकी उनको पहिलो फिल्म सुपरहिट भएको थियो। उनले श्रीकृष्णसँगै अभिनय गरेको 'कोहिनूर' पनि हिट भएको थियो।
केही समय उनी फिल्मबाट टाढा रहिन्, त्यो बेला उनी सामाजिक काम र व्यवसायमा अघि बढिन्।
अहिले उनी व्यवसायमा निकै सक्रिय छिन्। उनले दरबारमार्गको राइजिङ मल र बालुवाटारमा ‘हिमालयन जाभा’ क्याफे सञ्चालन गरिरहेकी छन्।
क्याफेसँगै उनले पुतलीसडकस्थित स्टार मलमा ‘ट्रिकी एन्ड टिक्सी बारटेन्डिङ वरिष्टा एकेडेमी’ नामक तालिम केन्द्र सञ्चालन गरिरहेकी छन्। यसबाहेक उनी ‘अल्टिमोडिल’ नामक अनलाइन सपिङ व्यवसायकी पनि सञ्चालक हुन्।
केही समयअघि मात्र उनको व्यवसायी विजयेन्द्र सिंहसँग बिहे भएको हो।
३. नम्रता श्रेष्ठ
नम्रता श्रेष्ठ सिनेक्षेत्रमा जमेकी अभिनेत्री हुन्। म्युजिक भिडिओमा समेत देखिइरहेकी उनी छोटा फिल्म र नाटकमा पनि काम गरिरहेकी छन्।
निर्देशक आलोक नेम्वाङको फिल्म 'सानो संसार' बाट सिनेक्षेत्रमा प्रवेश गरेकी उनले त्यहीँदेखि दर्शकको मन जितिरहेकी छन्। उनको पछिल्लो फिल्म 'जायरा' हो जसमा उनले किक बक्सिङ खेलाडीका रूपमा अभिनय गरेकी थिइन्। ‘मेरो एउटा साथी छ’, 'प्रसाद', 'छड्के' उनका सम्झनलायक फिल्म हुन्।
फिल्मी दुनियाँदेखि बाहिरी क्षेत्रमा पनि उनी काम गरिरहेकी छन्। नम्रता रेस्टुरेन्ट व्यवसायमा सक्रिय छिन्। उनको ज्ञानेश्वरमा ‘एटिक’ रेस्टुरेन्ट छ।
४. वर्षा सिवाकोटी
फिल्म ‘नाई नभन्नु ल २’ बाट डेब्यू गरेकी वर्षा सिवाकोटीलाई 'पशुपतिप्रसाद' फिल्मले निकै चर्चा दिलायो। म्युजिक भिडिओमा पनि सक्रिय उनी 'लप्पन छप्पन', 'गाँजाबाजा', 'वीर बिक्रम २' जस्ता फिल्ममा देखिइसकेकी छन्।
वर्षाले अरू कलाकारभन्दा अलि भिन्न व्यवसायमा हात हालेकी छन्। उनी नेपाल मेडिसिटी हस्पिटलमा आवद्ध छिन्। छाला, कपाल र नङ सम्बन्धित उपचार हुने स्किन सिटीकी उनी प्रमुख कार्यकारी अधिकृत हुन्।
५. सरोज खनाल
अघिल्लो पुस्ताका चर्चित अभिनेता लामो समय अमेरिका बसेर फर्किएका हुन्। फर्किएर पनि फिल्मा चरित्र अभिनेताका रूपमा काम गरिरहेका उनी व्यवसायमा पनि सक्रिय छन्।
सरोजले ललितपुर, एकान्तकुनामा पोल्ट्री फार्म खोलेका छन्। उनी अचेल फिल्म क्षेत्रसँगै आफ्नो पोल्ट्री व्यवसायमा पनि समय बिताइरहेका छन्।
६. साम्राज्ञी राज्यलक्ष्मी शाह
पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले केही समयअघि मात्र अनलाइन व्यवसाय सुरू गरेकी हुन्।
उनले लकडाउन समयमा ‘प्याप’ नामक अनलाइन स्टोर खोलेकी छन्। उनको स्टोरमा विषेशगरी महिलाको लागि डिजाइनदार कपडाहरू पाइन्छन्।
'ड्रिम्स' र 'ए मेरो हजुर २' बाट चर्चामा आएकी उनले 'मंगलम्', 'मारूनी', 'कायरा', 'इन्टु मिन्टु लन्डनमा', 'रातो टिका निधारमा' जस्ता फिल्ममा अभिनय गरिसकेकी छन्। उनको नयाँ फिल्म 'ह्यारीकी प्यारी' को हालै छायांकन सकिएको छ।