चलचित्र विकास बोर्डले २०७८ सालमा ‘स्टोरी बैंक’का लागि मागेको आवेदनबाट २० फिल्म छनौट गरेको छ।
बोर्डले मंगलबार सूचना जारी गर्दै १० लघु फिल्म र १० वटा फिचर फिल्म छनोट गरेको हो। बोर्डले जारी गरेको सूचनाअनुसार लघु फिल्म अन्तर्गत सूर्यबहादुर शाहीको भगवानको घर, दिलिप पन्तको लक्ष्मी, सरोज सिलवालको चङ्गा चेट, शक्ति बल्दब घोरासैनीको प्रलय, प्रकाश सापकोटाको छोरी, सुन्दर योञ्जको एट इज इनएसपेसियस डे, लेखनाथ पोखरेलको फकलीको गाउँ, गोपाल वि.कको फ्री फायर र ङिमा गेलु लामाको टु फिल्म छानिएका छन्।
फिचर फिल्मतर्फ मनोज बाबु पन्तको हिउँले खाएको बाटो, मीन भामको चिसो वर्ष, राजेशप्रसाद खत्रीको ब्याक एण्ड वाइट फोटो, निरञ्जनराज भेटवालको इन्द्रेणी पारी, फिडेल देवकोटाको काङ्गलिङ्ग, भिमबहादुर रानाको घाँटु, कृष्णा पराजुलीको केतकी, निरज प्रसाद थपलियाको अस्तित्व, निर्मल पौडेलको गोपाली र नवराज खड्काको काँडेतार पटकथा उत्कृष्ट १० भित्र परेका छन्।
यसरी छानिएका फिल्मले चलचित्र विकास बोर्डबाट निर्माणका लागि आर्थिक सहयोग पाउँछन्। स्वदेशी तथा मौलिक चलचित्र निर्माणमा मद्दत पुग्ने अभिप्रायका साथ बोर्डले अघिल्लो साल ‘स्टोरी बैंक कार्यविधि २०७७’ बनाएको थियो।
पहिलो वर्ष बोर्डले स्टोरी बैंकका लागि दुई फिचर फिल्म, दुई डकुमेन्ट्री र एउटा सर्ट फिल्म गरी ५ मौलिक कथा छानेको थियो। यो वर्ष भने बोर्डले थप ५ फिल्मलाई निर्माणमा सघाउने बताएको छ।
सरकारले अघिल्लो वर्ष ‘स्टोरी बैंक’का ५० लाख रकम छुट्याएको थियो भने अहिले त्यो रकम दोब्बर बनाएर १ करोड बनाएको छ।