साउथ फिल्म ‘केजीएफः च्याप्टर २’ को लागि नेपालमा गत शनिबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ। हाल केजीएफको सबै शो सोल्डआउट भइसकेको छ।
फिल्मको उच्च माग आएपछि हल सञ्चालकहरुले शो थपेका छन्। ‘केजीएफ २’ को लागि काठमाडौंका हलमा बिहान ६ बजेदेखि बेलुका १०ः३० को शो सञ्चालन हुँदैछ। ६ बजेदेखि हल खुल्न लागेको यो पहिलो रेकर्ड हो।
‘केजीएफ २’ को क्रेजले गर्दा बिर्तामोडमा राती १२ बजे पनि हल खुल्ने भएको छ भने इटहरीमा बिहान ५ बजेदेखि हल खुल्ने भएको छ।
यसभन्दा अघि भारतमा समेत यो फिल्मले टिकट बुकिङमा नयाँ रेकर्ड राखेको छ। न्यु टाइम्स अफ इन्डियाका अनुसार मुम्बई र पुणेमा केजीएफ-२ को पहिलो शो बिहान ६ बजेदेखि सुरू हुनेछ। केजीएफको मुम्बईमा १४५० देखि १५ सय भारु र दिल्लीमा १८ सयदेखि २ हजार भारुसम्म टिकट बुकिङ भइरहेको छ। यो हालसम्म कै उच्च रकम हो।
नेपालका हलहरूले भने शो थप गरेपनि टिकट मूल्यमा कुनै परिवर्तन गरेको छैन।
‘केजीएफः च्याप्टर २’ पिरियड ड्रामा सन् २०१८ मा रिलिज भएको ‘केजीएफः च्याप्टर १’ को दोस्रो भाग हो। फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन्।
‘केजीएफ २’ कन्नड, तमिल, तेलुगु, हिन्दी र मलयालम गरी ४ भाषामा विश्वव्यापी रूपमा रिलिज हुँदैछ। यो फिल्म सय करोडको बजेटमा बनेको बताइएको छ।
प्रशान्त नीलले निर्देशन गरेको फिल्मलाई हम्बल फिल्म्सले निर्माण गरेका हुन्।