गुड फ्राइडे सिनेमा
नयाँ वर्षका दिन बिहीबार रिलिज दक्षिण भारतीय फिल्म 'केजिएफ- २' हेर्न नेपालका सिनेमा हलमा पनि दर्शकको घुइँचो छ। चार-पाँच दिनका सबै टिकट बिकिसकेका छन्। केही हलले बिहान साढे छ देखि बेलुकी साढे दस बजेसम्मका शो चलाएका छन्।
मूल रूपमा कन्नड भाषामा बनेको यो फिल्म सन् २०१८ मा बनेको केजिएफ- १ को दोस्रो भाग हो। केजिएफ- १ सुपरहिट फिल्म हो जसले कन्नड भाषामा सबभन्दा धेरै पैसा कमाउन सफल फिल्मको रेकर्ड बनाएको छ। केजिएफ- २ पनि बक्स अफिसमा त्यस्तै रेकर्ड राख्ने क्रममा छ।
तपाईंहरू केजिएफ- २ हेर्ने तयारीमा हुनुहुन्छ भने त्यसअघि केजिएफ- १ हेर्नैपर्ने हुन्छ। धेरैले त हेरिसक्नुभयो होला तर नहेर्नेहरूका लागि आज गुड फ्राइडे सिनेमामा हामी यही फिल्म हेर्न सिफारिस गर्छौं।
केजिएफ- १ को कथाबारे कुरा गर्नुअघि यसका मुख्य अभिनेता यशको कुरा गर्नुपर्ने हुन्छ। किनभने यो फिल्मको सफलताका पछाडि उनको ठूलो हात छ।
कन्नडभाषी फिल्मका चर्चित अभिनेता यशलाई 'रकिङ स्टार' को उपाधि दिइएको छ। यशले यो उपाधि यसै पाएका होइनन्। उनको धेरै वर्षको मेहनत र अब्बल अभिनयको नतिजाका कारण उनी दर्शकमाझ 'रकी' नामले चिनिएका हुन्।
टिभी श्रृंखलाबाट काम सुरू गरेका यशको पहिलो फिल्म सन् २००७ को 'जम्बादा हुदुगी' हो भने मुख्य अभिनेताका रूपमा रिलिज भएको फिल्म 'रकी' हो। यो २००८ मा रिलिज भएको थियो। यही फिल्मबाट उनले रकी नामको पहिचान बनाएका हुन्। यही पहिचानका साथ उनी केजिएफ-१ मा देखिएका थिए।
केजिएफ- १ को कथा सन् १९८१ मा प्रधानमन्त्री रमिका सेनले संसदमा बोल्दै गर्दा सुरू हुन्छ। उनी यस्तो व्यक्तिबारे कुरा गरिरहेकी हुन्छिन् जो भयानक छन्। रमिका उनलाई 'राक्षस' भन्छिन्। उनी ती राक्षसको नाम इतिहासको कुनै पानामा आउन नहुने कुरा गर्छिन्। अनि उनको नाममा 'डेथ वारेन्ट' जारी गर्दै पक्रन सेना परिचालन गर्छिन्।
त्यसपछिको दृश्य एकैपटक सन् २०१८ मा आइपुग्छ जहाँ आनन्द इंगालागीको किताब 'एल डोराडो' बारे चर्चा हुन्छ। किताबमा कोलार सुन खानीमा सन् १९५१ देखि २०१८ मा भएका घटनाहरूको विवरण उल्लेख छ। भारत सरकारले त्यो किताबमाथि प्रतिबन्ध लगाएको र छापिएका सबै प्रति जलाएको थियो। तर एक टेलिभिजन च्यानलले किताबको एकप्रति फेला पार्छ र लेखक आनन्दलाई यसबारे कुरा गर्न बोलाउँछ।
आनन्दले दुइटा कथा सँगैसँगै भन्छन्- कोलार सुन खानी र रकीको।
यी दुवैको कथा एकैदिन सुरू हुन्छ।
रकी जन्मेकै दिन सूर्यवर्द्धनले कोलार सुन खानी फेला पारेका हुन्छन्। उनले सरकारी अधिकारीहरूको हत्या गरेर खानी भाडामा लिन्छन् र त्यहाँबाट सुन निकालेर बेच्दै धनाढ्य बन्छन्। यो कुरा उनले बाहिरी संसारबाट गोप्य राखेका हुन्छन्।
उता एकल आमाका सन्तान रकी गरिबीबीच हुर्किन्छन्। एकदिन उपचार खर्च जुटाउन नसक्दा उनकी आमाको मृत्यु हुन्छ।
बालक रकीसँग आमाले मर्ने बेला एउटा बचन माग्छिन्- तँ जिन्दगी कसरी बिताउँछस्, यो कुरा मलाई थाहा छैन। तर जब तँ यो संसारबाट जान्छस्, तब सबभन्दा बढी शक्तिशाली र धनी मान्छे भएर मर्नू।
रकीले आमाको कसम खाएर संसारकै धनी हुने बाचा गर्छन्।
आमा उनलाई गन्तव्य देखाइदिएर संसारबाट विदा हुन्छिन्। तर गन्तव्यसम्म पुग्ने बाटो उनले आफैं तय गर्नुपर्ने हुन्छ।
संसारकै धनी बन्ने दिशामा रकीले रोजेको बाटो सही हुँदैन। थुप्रै हन्डर खाँदै उनी धनी बन्न शक्तिको खोजीमा लाग्छन्।कसैसँग नडराउने रकी सानैमा 'गुन्डा' बन्छन्। त्यसमा उनी यति सफल हुन्छन्, युवाकालसम्म आइपुग्दा विभिन्न समूहसँग मिलेर बम्बईका खुंखार गुन्डा भइसकेका हुन्छन्।
अर्कातिर सन् १९७८ को समयकाल पनि फिल्ममा सँगसँगै देखिन्छ। त्यो बेला इरान र अफगानिस्तानका कारण अमेरिका र सोभियत संघबीच दुरी आउँछ। अरू थुप्रै सामानका साथै सुनको भाउ अकासिन्छ। त्यति बेला सूर्यवर्द्धन राजनीतिमा समेत लागेर यति शक्तिशाली भइसकेका हुन्छन्, उनलाई छुन सितिमिति कसैले सक्दैन। भारतीय सुन बजारमा कोलार गोल्ड फिल्ड (केजिएफ) को एकछत्र राज हुन्छ।
यो पनि पढ्नुहोस्ः केजिएफ- १२१ वर्षमा ९०० टन सुन झिकिएको कोलार गोल्ड फिल्डको इतिहास
केजिएफको साम्राज्य सुरक्षित गर्न सूर्यवर्द्धनले पाँच जना साझेदार बनाएका हुन्छन् जसले सुन पगाल्नेदेखि बेच्नेसम्मको जिम्मेवारी सम्हालेका छन्। केजिएफ सम्हाल्नमा सूर्यवर्द्धनका भाइ अधीरा र छोरा गरूडाको बलियो हात हुन्छ।
एकदिन सूर्यवर्द्धनलाई हृदयाघात हुन्छ। उनी हलचल गर्न नसक्ने हुन्छन्। सूर्यवर्द्धन कमजोर भएको देखेर उनीमुनि काम गर्नेहरूको नियत बिग्रिन्छ। अनि केजिएफमा पहिलोपटक विद्रोह सुरू हुन्छ।
यस्तो अवस्थामा सूर्यवर्द्धनले केजिएफको सत्ता आफ्ना छोरा गरूडालाई दिन्छन्। भाइ अधीरा पनि गरूडा जिउँदो हुन्जेल यो गद्दीबारे नसोच्ने भन्छन्।
सूर्यवर्द्धनको स्वास्थ्य बिग्रिएको समाचारले दुबईका सुन व्यापारी इनायत खलील खुसी हुन्छन्। उनी यसलाई बम्बई प्रवेश गर्ने मौकाका रूपमा लिन्छन्। बम्बईका डन दिलावरसँग हात मिलाएर इनायत खलील पहिलोपटक आफ्नो सुन बम्बई भित्र्याउन खोज्छन्।
यही बेला प्रवेश हुन्छ रकीको। बम्बईको बजार छिर्ने इनायत खलीलको सपना उनी चकनाचुर पारिदिन्छन्।
रकी शेट्टी डनका लागि काम गरिरहेका हुन्छन्। रकीको कारनामाबाट शेट्टीलाई नै खतरा महसुस हुन थालिसकेको हुन्छ।
त्यसैबीच शेट्टीले समेत मान्ने डन एन्ड्रुस आइपुग्छन्। उनले रकीलाई बैंगलोरमा एउटा काम गर्न अह्राउँछन् र यो काम फच्चे गरे पूरा बम्बईमा राज गर्न सक्छस् भन्छन्।
रकी बैंगलोर पुग्छन्। यहीँ पुगेपछि उनको बाटो रिना देशाइसँग जोडिन्छ। सूर्यवर्द्धनसँग जोडिन्छ। गरूडासँग जोडिन्छ। केजिएफसँग जोडिन्छ।
रकीलाई एन्ड्रुसले के काम गर्न बोलाएका हुन्छन्? के उनी आफ्नो काममा सफल हुन्छन्? के उनले बम्बई सहरलाई आफ्नो शासनक्षेत्र बनाउन सक्लान्? आफ्नी आमालाई दिएको बचन पूरा गर्लान्?
यसका लागि अब केजिएफ- १ हेर्नुहोला।
यो हेरिसकेपछि तपाईंका मनमा थप प्रश्नहरू आउन सक्छन्। किनकि फिल्मले कथाको पूरै विवरण दिँदैन।
केजिएफमा कसको शासन हुन्छ? रिनासँग रकीको सम्बन्ध के हुन्छ? प्रधानमन्त्री रमिका सेनले रकीलाई किन राक्षस भनेकी हुन् र डेथ वारेन्ट जारी गरेकी हुन्?
यसका लागि सिनेमा हलमा लागिरहेको केजिएफ- २ हेर्नुहोला। केजिएफ- १ भने युट्युबमै हेर्न सक्नुहुन्छः