कवि नवराज पराजुलीको र्याप गीत 'तुलना' सार्वजनिक भएको छ। एउटा मानिसलाई अर्को मानिससँग तुलना गर्दा त्यस्तो तुलनाले मानिसमा पर्ने मानसिक असरविरूद्धमा गीतले बोलेको छ।
गीतको बोल यस्तो छ-
तुलना नगर मेरो कोहीजस्तो छैन म
एक्कैछिन अगाडिको मैजस्तो छैन म
म रोएजति त तिमी हाँसेको पनि छैनौ
म मरेजति त तिमी बाँचेको पनि छैनौ
त्यसैले तुलना नगर मेरो..
रिदम कँडेलको संगीत संयोजन र दीपराज थापाको निर्माणमा बनेको यो गीतमा नवराज पराजुलीको शब्द र प्रस्तुति छ। यसको छायांकन योगेश दाहालले गरेका हुन्।
हरेकको जीवन, भोगाइ र दु:ख अर्कोको भन्दा फरक हुन्छ, हरेक मान्छे आफूजस्तो छ त्यो नै पर्याप्त छ, उसलाई कसैसँग तुलना नगरी पूर्ण छ भन्ने भाव यो गीतमा समेटिएको कवि पराजुलीले बताए।
गीतमार्फत् हरकोहीलाई प्रेरणा दिने विश्वास रहेको पनि उनको भनाइ छ।
यो गीत कवि पराजुलीको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको हो।