बलिउड कलाकार सोहेल खानले काठमाडौंमा आगामी जेठ दोस्रो साता हुने ‘दबङ रिलोडेड टुर’ को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।
आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि सलमान खानको बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले बिहिबार पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।
सलमान र सोहेल दाजुभाई हुन्।
उनले आफूलाई नेपाल एकदमै राम्रो र सुन्दर लाग्ने बताए। आफू सानो छँदा काठमाडौं आएको स्मरण गर्दै खानले यसपटकको काठमाडौं भ्रमणमा सगरमाथा हेरेर मात्र फर्कने बताए।
‘नेपाल एकदमै राम्रो र सुन्दर छ। म १०–१२ वर्षको हुँदा स्कुल जीवनमा पहिलो पटक काठमाडौं आएको थिएँ, त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइनँ’, उनले भने, ‘अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु।’
उनले ‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने भन्दै शो हेर्नको लागि सबैलाई आग्रह समेत गरेका छन्।
‘दबङ रिलोडेड टुर’ मा सलमानसँगै कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लीन फर्नान्डेजलगायतका कलाकार सहभागी हुनेछन्।
कार्यक्रममा नेपाली कलाकारको समेत प्रस्तुती रहनेछ। आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरू हुनेछ। साढे तीन घण्टासम्म बलिउड कलाकारले प्रस्तुती दिनेछन्।
टिकटको मुल्य न्यूनतम् ५ हजार देखि २५ हजार रूपैयाँसम्म राखिएको आयोजकले जानकारी दिएको छ।