काठमाडौंमा थप दुई मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएका छन्। नयाँ वर्षको अवसर पारेर दरबार मलमा दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाज् सञ्चालनमा आएको हो।
गुण ग्रुपद्वारा निर्माण भएको दरबार सिनेम्याक्समा ५० र ५३ सिट क्षमताको दुई वटा हल, अत्याधुनिक साउण्ड सिस्टम स्क्रिन र अर्डर अनुसारको खाना बार सहितको सेवा प्रदान गर्ने गरी सञ्चालनमा आएको प्रबन्ध निर्देशक दिप्रस शाक्यले जानकारी दिए।
गुण ग्रुपले विगत २५ वर्षदेखि गुण सिनेमा हल सञ्चालन गर्दै आएको छ।
नयाँ बानेश्वरमा हल सञ्चालन गरिरहेको वान सिनेमाज्ले कालिमाटीमा नयाँ हल खोलेको हो। उक्त हलमा दुई अडिटोरियममा तीन सय सिट क्षमता छ भने दर्शकले पाँच सय र सात सय रुपैयाँमा टिकट काट्नुपर्नेछ।
क्युएफएक्सले व्यवस्थापन गरिरहेको दुवै हलमा वैशाख १ गतेदेखि ‘केजीएफः च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रर्दशन भएको छ।