गत बिहीबारदेखि साउथ फिल्म ‘केजिएफः च्याप्टर २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शन भइरहेको छ।
विदेशी फिल्मको दबदबामा प्रदर्शन भएको फिल्म ए मेरो हजुर ४ ले दर्शकको राम्रै साथ पाइरहेको छ। तर, केजिएफको क्रेज बढि हुँदा केही हल सञ्चालकहरूले 'ए मेरो हजुर ४' को शो कटौती गरेका छन्।
फिल्मले राम्रो प्रदर्शन गर्दा गर्दै शो घट्दा फिल्मकर्मीहरूले सामाजिक सञ्जाल मार्फत प्रदर्शकहरूको चर्को आलोचना गरिरहेका छन्।
नेपाल चलचित्र संघका महासचिव तथा निर्माता अशोक शर्माले यसरी नै चल्ने हो भने अब आउने सक्ने आँधीबेरीको सामाना गर्न चेतावनी दिएका छन्।
‘बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ए मेरो हजुर ४ देशभर हाउसफुल हुँदा हुँदै काठमाडौंका केही र काठमाडौं बाहिरका केही हलहरूले शो हटाउनु पर्ने कारण के हो जवाफ छ ती हलहरूसँग? यसरी नै चल्ने हो भने अब आउन सक्ने आँधीबेरिको सामाना गर्न तयार रहनुहोला,’ शर्माले फेसबुकमा लेखेका छन्।
कलाकार तथा निर्माता दीपकराज गिरीले पनि प्रदर्शकहरूलाई नैतिकता प्रदर्शन गर्न चेतावनी दिएका छन्।
‘केजिएफ पनि चलाउ, पैसा मज्जाले कमाउ। तर, नेपाली फिल्मलाई दिएको थोरै शो त नघटाउ। क्युएफएक्स लगायत केही हलहरूले न्याय गरेको देखियो। तर, केही हलहरूले भने बदमासी गरेको मज्जाले देखिएको छ,' उनले फेसबुक स्टाटसमा लेखेका छन्, 'तपाईंहरूलाई भोलिका दिनमा स्वदेशी उत्पादनमा अनिवार्य कोटा भनेर प्रतिशत तोकियो भने कति गाह्रो पर्छ होला? जुन सम्भावना पनि छ।’
नेपाली फिल्मका सफल निर्माता तथा निर्देशक दीपेन्द्र के खनालले पनि प्रदर्शकको व्यवहारले टिठ लाग्न थालेको उल्लेख गरे। ‘नेपाली फिल्ममा दर्शकको चाप हुँदा हुँदै पनि शो घटेको कुराले टिठ लाग्न थाल्यो। कसलाई भन्ने, कसले सुन्ने?’ उनले फेसबुक स्टाटसमा लेखेका छन्।
त्यस्तै, निर्देशक तथा अभिनेता निश्चल बस्नेतले नेपाली फिल्मलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भनेका छन्, ‘प्राथमिकता भन्ने शब्द खुबै सुनियो हाम्रो फिल्म जगतमा दिग्गजहरूबाट। तर, अफसोच शब्द बन्द मिटिङमै सिमित भयो। फेरि, अर्को मिटिङ कैले हो? बोलाउनुहोस् है। नेपाली फिल्मलाई प्राथमिकतामा राख्नुपर्छ, भन्नुपर्छ मिलेर। यो पल्ट चै त्यो सुनेर हाँसौं पनि है?’
हल सञ्चालकहरूले शो घटाउएका मात्र छैनन्। उनीहरूले नियम विपरित मध्यरातमै शो पनि सञ्चालन गरिरहेका छन्।
एफक्युब सिनेमाज्, बिग मुभिज् र बिएसआर मुभिजले अनुमति नलिई रातिदेखि नै हल सञ्चालन गरिरहेको छ। अनुमति नलिई राति हल सञ्चालन गर्ने हलहरूलाई चलचित्र विकास बोर्डले कारबाही प्रक्रिया अगाडि बढाएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए।