राष्ट्रिय चलचित्र पुरस्कारबाट दीपक राज गिरी उत्कृष्ट अभिनेता र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री सम्मानित भएका छन्। चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको पुरस्कार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको हो।
बोर्डले २०७६/२०७७ को राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको हो।
सुरक्षा पन्तले ‘आमा’ फिल्मबाट उत्कृष्ट अभिनेत्री र ने दीपकराज गिरीले ‘छ माया छपक्कै’ बाट प्राप्त उत्कृष्ट अभिनेताको पुरस्कार पाएका हुन्।
‘आमा’ फिल्मले उत्कृष्ट फिल्मको पुरस्कार पनि जितेको छ भने यसै फिल्मबाट दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशकको पुरस्कार हात पारे।
प्राविधिक विधातर्फ हरि हुमागाईँले ‘छ माया छाप्पक्कै’ बाट छायांकन विधामा पुरस्कार जिते। सम्पादनतर्फ निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले ‘कबड्डी कबड्डी कबड्डी’ बाट पुरस्कार प्राप्त गरे।
पटकथा तर्फको पुरस्कार भने ‘जात्रै जात्रा’ का लागि प्रदीप भट्टराईले प्राप्त गरे। समारोहमा ‘जीवन काँडा कि फूल’ फिल्मबाट आस्था थापा र फिल्म ‘रातो टिका निधारमा’बाट अंकित शर्माले नव प्रतिभा सम्मान प्राप्त गरे।
कार्यक्रममा भुवन चन्द र शम्भुजित बाँस्कोटालाई दीर्घ साधना सम्मान प्रदान गरियो। दीर्घ साधना सम्मानको राशि तीन लाख ५१ हजार एक सय ११ रूपैयाँ रहेको छ। भुवनलाई २०७६ र शम्भुजितलाई २०७७ सालको दीर्घ साधना सम्मान प्रदान गरिएको हो।