चलचित्र विकास बोर्डले बिना अनुमति मध्यरातमा हल सञ्चालन गर्नेलाई कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको छ।
बोर्डले अनुमति नलिई मध्यरातमा हल सञ्चालन गर्ने बिग मुभिज, एफक्युब, बिएसआर र वान सिनेमाज् विरुद्ध कारबाहीका लागि राजस्व विभागलगायत सम्बन्धित निकायमा पत्राचार गरेको हो।
‘आजको छलफलमा हामीले बिना अनुमति मध्यरातमा हल सञ्चानल गर्ने केही हललाई कारबाहीको गर्न माग राखेका छौं। साथै नेपाली फिल्मलाई प्राथमिकतामा राख्ने निर्णयप्रति सबै निकाय सकारात्मक देखिनुभएको छ,’ बोर्डका सदस्य अर्जुन कुमारले सेतोपाटीसँग भने।
वैशाख १ गतेदेखि प्रदर्शन भएको दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ को उच्च माग आएपछि हलवालाहरूले बोर्डलाई जानकारी नदिई मध्यरात मै शो चलाएका थिए।
त्यस्तै, २४ सैं घण्टा फिल्म हल सञ्चालन गर्न पाउने व्यवस्था गर्न बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सिफारिस गरेको छ।
‘आज सरोकारवाला निकायसँग भएकोे छलफलपछि बोर्डले जुनसुकै समयमा फिल्म चलाउन पाउने व्यवस्था गर्न सिफारिस गरेका छौं,’ उनले भने। बोर्डले प्रदर्शक (फिल्म हल) र वितरकसहितको छलफलबाट उक्त निर्णय गरेको हो।
‘केजिएफ च्याप्टर २’ रातको समयमा पनि प्रदर्शन भएपछि प्रदर्शनको समयलाई लिएर बोर्डले फिल्म हल सञ्चालकसँग छलफल गरेको हो।