‘स्वर्गकी अप्सरा...’ बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडिओमा आकाश र पूजा प्रेम जोडीका रूपमा प्रस्तुत भएका छन्। ठूलो पर्दाको फिल्मसँगसँगै म्युजिक भिडियोमासमेत रूचाईंदै आाएका आकाश र पूजाको केमेष्ट्री यो गीतको म्युजिक भिडिओमा निकै जमेको छ। उनीहरु गीतको भिडिओमा रोमान्टिक मुडमा प्रस्तुत भएका छन्।
कविराजले भिडिओलाई फिल्मी शैलीले तयार पारेका छन्। फिल्मी गीतको भिडिओदेखि म्युजिक भिडिओसम्ममा सधैं आकर्षक लोकेशन पस्केर दर्शकलाई मोहित तुल्याँदै आएका कविराजले यसको भिडिओमा समेत त्यसलाई निरन्तरता दिएका छन्।
दीपक कँडेलद्वारा लिखित गीत सुगम पोखरेल र अञ्जु पन्तले गाएका छन् भने दीपक वसन्त कार्कीले संगीत भरेका छन्।
प्रेममा रहँदा मायालु जोडीले एक अर्कालाई गर्ने माया तथा त्यस क्रममा गर्ने बयानका मिठा र रोमान्टिक शव्दले भरिएका गीत दीपीका म्युजिकद्वारा प्रस्तुत गरिएको हो।
मिठासपूर्ण गीतमा संगीत संयोजन सुदीप सागरको रहेको छ। सौरभ लामाको छायांकन निर्देशन रहेको म्युजिक भिडिओ अर्जुन जिसीले सम्पादन गरेका छन्।
भिडियोका नायक नायिका आकाश र पूजाले यो गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको तथा यसलाई लिएर आफूहरू उत्साहित भएको बताए।
निर्देशक कविराज गहतराजले आकाश र पूजाको समय मिलाएर भिडिओ निर्माण गर्न तीन महिना लामो समय प्रतीक्षा गरेको र अन्ततः प्रतीक्षाको फल मिठो निस्केको बताए। भिडिओ गीतकार दीपक कंडेलेको निर्माणमा र प्रस्तुतिमा तयार पारिएको हो।