गुड फ्राइडे सिनेमा
फिल्म भनेको कलाको यस्तो माध्यम हो जहाँ कथा र प्रस्तुतिले मात्र सफलता दिँदैन। मुख्य अभिनेताको प्रभाव र लोकप्रियताकै कारण पनि कतिपय फिल्म सुपरहिट हुन्छन्। चाहे त्यो अमिताभ बच्चनको कुरा गरौं वा शाहरूख, सलमान र आमिर खानको।
यसरी आफ्नै दममा फिल्म हिट गराउने हैसियतका यी अभिनेताहरूलाई सुपरस्टार भनिन्छ। तर आज हामी कुनै सुपरस्टारको होइन, रकिङ-स्टारको कुरा गर्दैछौं — रकिङ-स्टार यश।
यशका पछिल्ला दुई फिल्म 'केजिएफ' बारे त केही भन्नै परेन। तीसभन्दा बढी रेकर्ड बनाइसकेको केजिएफ-२ सिनेमा हलहरूमा दौडिरहेकै छ। त्यसअघिको केजिएफ- १ अघिल्लो साता हामीले तपाईंहरूलाई हेर्न सिफारिस गरिसक्यौं। आज गुड फ्राइडे सिनेमामा हामी उनै यशको अर्को सुपरहिट फिल्म सिफारिस गर्दैछौं।
फिल्मबारे भन्नुअघि यशबारे केही रोचक कुरा थाहा पाउनु रमाइलै हुन्छ। आज उनी जति सफल छन्, यहाँसम्म आइपुग्न उनले गरेको संघर्ष कम्ती छैन।
यश कर्नाटकको हासन जिल्लाको वुभनहल्ली गाउँमा सन् १९८६ जनवरीमा जन्मेका हुन्। उनको खास नाम नवीनकुमार गोडा हो। उनले पछि आफ्नो नाम फेरेर यश राखेका हुन्।
उनका बुवा कर्नाटक यातायातमा बस चालकका रूपमा काम गर्थे भने आमा गृहिणी थिइन्। बुवाको कमाइबाट घर चल्थ्यो। उनकी एक बहिनी छिन्।
यशलाई सानैदेखि फिल्ममा काम गर्ने रहर थियो। तर परिवारलाई यो खासै मनपरेको थिएन। तै पनि उनीहरूले केही समय प्रयास गरोस् भनेर यशलाई सिनेमा दुनियाँमा छिर्न समय दिए। बुवाले यसमा सर्त पनि राखेका थिए- यदि फिल्ममा राम्रो पहिचान कमाउन सकिनस् भने मैले भनेको मान्नुपर्छ।
यशले सर्त स्वीकारे अनि जम्मा तीन सय भारू बोकेर बैंगलरू आए।
पढाइ सकिएपछि उनी बिभी करान्थको बेनका नाटक समूहमा आबद्ध भए। अभिनयमा करिअर खोज्दै टिभी सिरियलहरूमा काम गर्न थाले। नन्द गोकुला उनको पहिलो सिरियल हो। त्यसपछि उत्तरायन र सिल्ली लल्ली नामक सिरियलमा काम गरे।
सन् २००७ मा आएर उनलाई पहिलोपटक ठूलो पर्दामा काम गर्ने अवसर मिल्यो। 'जम्बादा हुदुगी' फिल्ममा उनी एकदमै सानो भूमिकामा थिए जो कसैको ध्यानमै परेन।
सन् २००८ भने उनलाई फाप्यो। उनले 'मोग्गिना मनासु' मा सहायक भूमिका पाए। यसमा मुख्य भूमिका राधिका पण्डितको थियो जोसँग यशले नन्द गोकुला सिरियलमा सँगै काम गरेका थिए।
सहायक भूमिका भए पनि 'मोगिन्गा मनासु' बाट यशले उत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते। फिल्म सुपरहिट भयो। त्यसपछि उनलाई फिल्ममा काम पाउन मुश्किल भएन। त्यसै वर्ष उनले मुख्य भूमिकामा 'रकी' खेल्ने अवसर पाए। फिल्म खासै नचले पनि उनले यही फिल्मबाट आफ्नो नयाँ पहिचान बनाउन सफल भए।
त्यसपछि उनले वर्षमा दुइटाजस्तो फिल्म खेलिरहे। कुनै खास चलेनन्, कुनै हिट भए।
सन् २०१३ को फिल्म 'राजा हुली' सुपरहिट भयो। लगत्तै अर्को वर्ष आएको 'मिस्टर एन्ड मिसेस रामाचारी' त ब्लकबस्टर नै भयो। यो फिल्म तत्कालीन समयमा सबभन्दा धेरै कमाउने कन्नड फिल्ममध्ये एक बनेको थियो।
यही फिल्मलाई केजिएफ-१ भन्दा अगाडिको यशको ब्लकबस्टर मानिन्छ। यसमा राधिका पण्डित नै उनको अपोजिटमा छिन्। पहिलो सिरियलदेखि पहिलो फिल्ममा सँगै काम गरेकी उनै राधिकासँग यशले सन् २०१६ मा बिहे गरे। उनीहरूका दुई सन्तान छन्।
स्यान्डलवुड (चन्दनवना) भनेर चिनिने कन्नड फिल्म उद्योगमा आज यश रकिङ-स्टार हुन्। उनका प्रशंसक संसारभर बढिरहेका छन्। जम्मा तीन सय भारू लिएर संघर्ष गर्न हिँडेका यशको सम्पत्ति पनि बढेर ५० करोड भारूभन्दा बढी भइसकेको बताइन्छ। आगामी दिनमा उनका प्रशंसक र सम्पत्ति अझै बढ्ने अनुमान छ।
अब कुरा गरौं यशको करिअरको पहिलो ब्लकबस्टर मिस्टर एन्ड मिसेस रामाचारीको।
यो फिल्म चार विभिन्न अवार्डका ३४ विधामा मनोनयन भएको थियो, १८ वटा त अवार्ड जित्यो नै। चारमध्ये तीनवटामा यशले उत्कृष्ट अभिनेताको अवार्ड जिते। एउटा भने म्युजिक अवार्ड भएकाले उनी पर्ने कुरा थिएन।
केजिएफअगाडि व्यावसायिक रूपमा यशको सबभन्दा सफल फिल्म मिस्टर एन्ड मिसेस रामाचारीको कथा कुनै विशेष वा नयाँ छैन। यो एक सामान्य प्रेम कथा हो।
रामाचारी (यश) सामान्य परिवारका छोरा हुन्। उनी आमाबुवा र भाइसँग बस्छन्। सानैदेखि फिल्मका सोखिन उनी फिल्मी शैलीमै बोल्न खोज्छन्। डायलग मार्छन्।
उनको नराम्रो बानी पनि छ। उनी झैझगडामा सधैं अग्रसर हुन्छन्। पढाइलाई वास्तै गर्दैनन्। मदिरा पिउँछन्, धूमपान गर्छन्। सानैदेखि बिग्रेका, गैरजिम्मेवार र हावा छोराका रूपमा उनी हुर्किन्छन्। बुवाले उनलाई सधैं हप्काउँछन्।
आवारा रामाचारीको भेट एक दिन दिव्यासँग भेट हुन्छ। बिस्तारै दुवैले एकअर्कालाई मनपराउँछन्। तर प्रेम न हो, बिनाबाधा र खटपट कसरी अगाडि बढ्ला!
उनीहरूबीच असमझदारी सुरू हुन्छ। दिव्याकी आमा पनि रामाचारीजस्ता बिग्रेका केटासँग छोरीको सम्बन्ध गाँसिएको हेर्न चाहन्नन्। त्यहीबीच रामाचारी र दिव्याको प्रेममा दरार आउँछ।
अब यो प्रेमलाई उनीहरूले कसरी साकार बनाउँछन्, त्यसका लागि फिल्म हेर्नुहोला। प्रेमको रमाइलो, नोकझोंक र बाधासहितको पारिवारिक प्रेमकथा रमाइलो छ। बीचबीचमा यशका केही एक्सन दृश्यले दक्षिण भारतीय फिल्मको विशेषता कायम राख्न सफल भएको छ।
जो जस्तो छ त्यस्तै स्वीकार्नुपर्छ, अर्काको भावनाको कदर गर्नुपर्छ र सबै रूखा मान्छे खराब हुँदैनन् भन्ने सन्देश यो फिल्मले दिन खोजेको छ। मनोरञ्जनात्मक र पारिवारिक फिल्म मनपराउनेका लागि मिस्टर एन्ड मिसेस रामाचारी राम्रो रोजाइ हो।