अमेरिकाको ‘ह्युस्टन फिल्म फेस्टिभल’ मा अभिनेता महेश त्रिपाठी उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन्। नेपाली फिल्म ‘हल्कारा’ बाट उनी उत्कृष्ट अभिनेताको विधामा मनोनयनमा परेका हुन्।
बुधवार ‘वर्ल्ड फेस्ट ह्युस्टन’ फेसबुकमार्फत मनोनयनमा परेका तीन अभिनेताहरूको नाम सार्वजनिक गरिएको हो। त्रिपाठीसँगै अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीसँग प्रतिस्पर्धा गर्नेछन्।
फिल्म ‘नोभेम्बर रेन’ बाट अभिनयमा डेब्यू गरेका महेशले ‘चपली हाइट ३’ मा समेत काम गरिसकेका छन्। वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभलको रूपमा मानिन्छ।
यस पटकको फेस्टिभलमा विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म देखाइनेछ। विक्रम सापकोटाको निर्देशनमा बनेको मिहेश अभिनित फिल्म ‘हल्कारा’ २३ अप्रिलमा प्रिमियर हुने बताइएको छ।