चर्चित हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठ ७२ वर्ष लागेका छन्। उनी हिजो बुधबारदेखि ७२ वर्ष लागेका हुन्।
जन्मदिनको अवसरमा उनलाई हरिवंश आचार्य, दीपकराज गिरी, किरन केसीलगायत थुप्रै कलाकार एवम् दर्शकहरूले शुभकामना दिए।
बिहीबार भने मदनकृष्णले शुभकामना व्यक्त गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै फेसबुकमा पोस्ट गरेका छन्। उनले पोस्टमा आफू ७२ वर्षको पुगेको बताउँदै पुराना दिनहरूको सम्झना गरेका छन्।
पोस्टमा लेखेका छन्, '२०२२/०२३ सालतिर आफूले रेडियो नेपालमा गीत गाउँदा यो २०७९ सालको कल्पनासम्म पनि गरेको थिइनँ। जानी-नजानी यो कला क्षेत्रमा ध्यान गरे जसरी आँखा चिम्म गरेर यस्तरी लागियो कि आँखा खोलेर फर्केर हेर्दा त ओहो ७२ बर्ष बितीसकेछ। आम्मामा कति छिटो ७२-७२ बर्ष बितेको हो यो!'
उनले यसै पोस्टमा आफ्नो बुवालाई पनि सम्झेका छन्। उनका बुवा ५३ बर्षको उमेरमै बितेको र बुवा ५३ वर्षको हुँदा उनलाई बुढो लागेको बताएका छन्। यसैमा थप लेख्छन्, 'अहिले आफू ७२ वर्ष भइयो भन्दा झन् पठ्ठो नै लागिरहेको छ। कतै आफू जन्मेको साल सुन्नमा गडबड भएको पो हो कि त भनौं भने म हरिबंश जस्तो चिना हराएको मान्छे त हैन। मेरो चिनामा २००७ साल नै लेखिएको छ।'
मदन कृष्णले आफू कला क्षेत्रमा लाग्दा सक्ने मिहिनेत गरेको समेत सोही पोस्टमा उल्लेख गरेर लेखेका छन्। आफ्नो मुटुलाई जग्गासँग दाँजेर उनले लेखेका छन्, 'माटोको जग्गा पैसाले किन्न सकिन्छ। तर मुटु भित्रको जग्गा पैसाले किन्न सकिन्न। जब कला क्षेत्रमा कस्सेर लागियो त्यस बेलादेखि एउटा चाहना भनौं या उदेश्य थियो। मलाई धेरैभन्दा धेरै नेपालीहरूको मनमा सके एक बिगाहा, नसके एक रोपनी, त्यो पनि नसके चार आना, त्यो पनि नसके एकै आना जत्ति मात्र भए पनि एक टुक्रा सानु जग्गा लिएर त्यहाँ सदाका लागि जाडो महिनामा न्यानो र गर्मीको मौसममा सितल भैरहने एउटा सानु घर बनाएर बस्ने इच्छा थियो।'
पोस्टको अन्त्यमा उनले आफ्नो इच्छा थोरै भएपनि पूरा भएको बताउँदै आफ्नो जन्मदिनको अवसरमा शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिएका छन्।