अभिनेता कर्मा शाक्यले आफ्नो नाम कार्म रहेको बताएका छन्। बिहीबार फिल्म ‘षट्कोण’ को पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो नाम कार्म रहेको बताएका हुन्।
उनले आफ्नो नामप्रति सबै सधैं अन्योलमा रहने बताउँदै भने, ‘मेरो कर्म, काम, कर्मा के हो भनेर सबै दोधारमा हुनुहुन्छ। तर मेरो नाम चैं कार्म हो। मैले ‘सानो संसार’ फिल्ममा काम गरेदेखि त्यहि नाम प्रयोग गरिरहेको छु। अग्रेजीमा कर्मा र कार्मको शब्द एउटै हुन्छ। धेरै जनाले कर्मको अर्थ भाग्य भनेर पनि बुझ्नु हुन्छ। तिब्बती भाषामा भने कार्मको अर्थ तारा हो। कार्म मेरो स्टेजको नाम हो नागरिकताको चै होइन।’
उनले आफ्नो थर नलेखी नाम मात्रै लेख्छन्। उनले जातीय भेदभावको अन्त्य गर्नुपर्ने भन्दै नाम मात्र लेख्ने गरेको बताए। ‘कलाकार भएको हिसाबले सबैलाई सकारात्मक सन्देश जाओस् भन्ने मेरो इच्छा छ। त्यसैले मैले कार्म मात्रै लेख्छु’ उनले भने।
उनले आफ्नो नामको अर्थ तारा भएपनि फिल्म चम्किन्छु भन्ने हिसाबले नराखेको बताए। ‘म तारा बन्नको लागि फिल्म क्षेत्रमा आएकै होइन। मलाई तारा बन्नू पनि छैन। नाम मैले भलै त्यो रोजे त्यो फरक कुरा हो। मलाई कलाकारिता गर्नुछ, भुईमा बसेर’, उनले भने।
वैशाख २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘षट्कोण’ मा उनले पत्रकारको भूमिका निभाएका छन्। मिलन डी काप्रीको निर्देशनमा बनेको फिल्ममा कर्मा र भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ। शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन्।