दक्षिण एसियाली डक्युमेन्ट्रीहरूको महोत्सव ‘फिल्म साउथ एसिया-२०२२’ को आज दोस्रो दिन हो। बिहीबारदेखि सुरू भएको महोत्सव पाटनढोकास्थित कमलमणी थिएटरमा आइतबारसम्म चल्नेछ।
महोत्सवको १३ औं संस्करणमा ८ देशका ७१ डक्युमेन्ट्री फिल्म प्रदर्शन हुनेछन्। कोरोना महामारीपछि पहिलोपटक भौतिक रूपमा हुन लागेको महोत्सवको थिम ‘सेलेब्रेटिङ द डक्युमेन्ट्री’ राखिएको छ।
बिहिबार भारतीय गायिका, संगीतकार तथा रचनाकार सोना महोल्त्राको डक्युमेन्ट्री फिल्म ‘सट अप सोना’बाट महोत्सवको सुरु गरिएको हो। भारतमा महिला कलाकारहरूले पनि बराबर स्थान पाउनु पर्छ भन्ने विद्रोहलाई डक्युमेन्ट्रीमा देखाइएको छ। यसलाई दिप्ती गुप्ताले निर्देशन गरेकी हुन्।
महोत्सवको दोस्रो दिन रमिथ सीको निर्देशनमा बनेको भारतीय फिल्म ‘टु थ्रि वान’, गरिमा गिरीको निर्देशनमा बनेको नेपाली फिल्म ‘ब्लुज अफ पिंक’, मधुरिमा रोयको निर्देशनमा बनेको भारतीय फिल्म ‘दोज डेज’, सिकुमा राईको निर्देशनमा बनेको नेपाली फिल्म ‘कम ओभर ड्रिंक कान्छी’, आरती श्रीवास्तवको निर्देशनमा बनेको फिल्म ‘द स्टोरी अफ लाम्सुङ’, नेपालको फिल्म ‘वीफोर यु ओर माई मदर’, सुखदिप सिंहको निर्देशनमा बनेको भारतीय फिल्म ‘सब रव दे बन्दे’, प्रिया थुभर्सीको निर्देशनमा बनेको भारतीय फिल्म ‘सिटी ग्रर्ल’ र एम अस्कुरको निर्देशनमा बनेको श्रीलंकाको फिल्म ‘फेस कभर’लगायतका डक्युमेन्ट्री फिल्म देखाइनेछ।