दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन्।
उनले यो फिल्म आफूले गर्दै आएको जनराभन्दा फरक खालको रहेको बताइन्। ‘मलाई फरक-फरक जनराको फिल्म खेल्न मनपर्छ। यो मैले गर्दै आएको फिल्मभन्दा फरक छ। त्यसैले फिल्म साइन गरेकी हुँ,’ उनले सेतोपाटीसँग भनिन्।
वैशाख २२ गतेबाट छायांकनमा जाने फिल्ममा अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा यसअघि नै अनुबन्धित भइसकेका छन्।
ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्।
सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्म आगामी वर्ष नै प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छन्।
सुरक्षाले दीपेन्द्रसँग पहिलो पटक फिल्म ‘धनपति’मा काम गरेकी थिइन्। उनीहरूको यो पाँचौ सहकार्य हो। गत आइतबार मात्रै दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्म ‘आमा’ बाट उनले राष्ट्रपतिको हातबाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितेकी छन्।