अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड अभिनेता महेश त्रिपाठीले जितेका छन्। फिल्म ‘हल्काराः द पोस्टम्यान’ बाट उनले अन्तर्राष्ट्रिय अवार्ड हात पारेका हुन्।
उनीसँगै अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर ली पनि प्रतिस्पर्धामा थिए। उनीहरूलाई पछि पार्दै त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्।
उक्त फेस्टिभलमा हल्काराले सर्वाेत्कृष्ट फिल्म र छायांकार विधामा समेत अवार्ड जितेको छ। चिन्तन राजभण्डारीले सर्वोत्कृष्ट छायांकारको अवार्ड जितेका हुन्।
विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा गाउँमा खबर पुर्याउने एक पात्रको कथा प्रस्तुत गरिएको छ।
फिल्मको वर्ल्ड प्रिमियर पनि सोही फेस्टिभलमा भएको थियो। फिल्मलाई चाँडै नेपालका हलमा प्रदर्शन गर्ने तयारीमा रहेको निर्माण टिमले बताएका छन्।