अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा बलिउड अभिनेता प्रदीप राम सिंह रावत अनुबन्धित भएका छन्।
नीताले सोमबार आफ्नो फेसबुक पोस्टमार्फत उक्त जानकारी गराएकी हुन्। फेसबुकमा प्रदीप रावतलाई आफ्नो नयाँ फिल्ममा स्वागत गर्दै भनेकी छन्, 'ह्रस्व दीर्घमा तपाईंलाई स्वागत गर्न पाउँदा हामी उत्साहित छौं।'
यसभन्दा अघि नीता र प्रदीपले एक भोजपुरी फिल्म 'माही'मा सहकार्य गरेका थिए। ‘पहिलै भोजपुरी फिल्म माहीमा काम गरेको भएकोले उनीसँग राम्रो सम्बन्ध बनेको छ। त्यसै पनि फिल्ममा काम गर्ने सहमति भएको हो,’ नीताले सेतोपाटीसँग भनिन्।
उक्त फिल्ममा प्रदीपको सकारात्मक तथा नकारात्मक दुवै भूमिका रहने नीताले बताइन्। त्यस्तै फिल्ममा आधा नेपाली कलाकार र बलिउड कलाकारको अभिनय रहने नीताले जानकारी दिएकी छन्।
अभिनेता प्रदीप बलिउडसँगै तेलुगू, तमिल, मलायालम र कन्नड फिल्मका पनि चर्चित छन्। उनी फिल्म 'गजनी' का खलनायक भनेर समेत चर्चित छन्। यसबाहेक उनी 'दुश्मनी','देवर','मार्केट राजा एमबिबिएस','एलेक्सन','चाइना टाउन', 'सर्दार कबर्सिङ' लगायत दर्जन बढी फिल्ममा देखा परेका छन्।
यसभन्दा अघि फिल्ममा सलोन बस्नेत अनुबन्धित भएका थिए। फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ।
नीता फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्दैछन्। द्वन्द्व निर्देशकको रुपमा परिचित उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन्।
८० दिनको कार्य तालिका बनाउँदै साउनबाट छायांकनमा जाने तयारी रहेको अभिनेत्री नीताले बताएकी छन्।
नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुनेछ।