‘ए मेरो हजुर’ का पछिल्ला तीन श्रृंखलामा लैंगिक अल्पसंख्यकलाई मजाकको विषय बनाएको प्रति अभिनेत्री सुहाना थापाले माफी मागेकी छन्।
उनले इन्स्टाग्राम र फेसबुक स्टोरीमा लैंगिक अल्पसंख्यकलाई लामो पत्र लेख्दै ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ मा लैंगिक अल्पसंख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको भए पनि अनजानमा त्यस्तो हुन गएकोमा माफी मागेकी हुन्।
‘लैंगिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहन्छु। लैंगिक अल्पसंख्यक शिव पार्वतीको रुप हो भन्ने हाम्रो विश्वासका कारण पनि हामीले फिल्ममा यस्ता चरित्रलाई स्थान दिँदै आएका हौं। यो कुरामा हामी चुकेका छौं। तर आगामी दिनमा सच्याउने छौं,' उनले लेखेकी छन्।
‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको छ। फिल्ममा उक्त समुदायलाई असंवेदनशील तरिकाले प्रस्तुत गरिएको भन्दै आलोचना हुँदै आएको थियो।
अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनरत छ। झरना थापाले निर्देशन गरेको फिल्ममा सुहानासँगै अनमोल केसी र सलोन बस्नेत मुख्य भूमिकामा छन्।