प्रकाशन बजारलाई थप चलायमान बनाउने उद्देश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ। नेपालयले चर्चित कवि श्रवण मुकारुङसँग सहकार्य गर्दै ‘नेपालय ई-कविता’ सुरू गर्न लागेको हो। यसका संयोजक र क्युरेटर कवि मुकारूङ रहनेछन्।
यो प्लेटफर्म मार्फत् कवि मुकारूङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्ने छन्।
‘ई-कविता’ का क्युरेटर एवम् संयोजक कवि श्रवण मुकारुङले पनि यसको परिकल्पना पूर्व लकडाउन ताका, आफ्नो फेसबुक पेजबाट नियमित रुपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए।
‘कविता, लामो समयदेखि व्यवसायिक प्रकाशन जगतको प्राथमिकता क्रममा पछाडि रहेको साहित्यिक विधा हो। यस्तो स्थिति सिर्जना हुनुमा, पाठकहरूमा राम्रो कविताप्रति आकर्षण नभएर होइन। बरू, हामीले कविता लेख्ने र प्रकाशित गर्ने कामलाई व्यावसायिक बनाउन नसकेर हो। प्रकाशनका यस्ता नयाँ आयामले कविता लेखन र पठन संस्कृतिलाई नै नौलो अवसर प्रदान गर्ने कुरामा म आशावादी छु,’ मुकारुङको भनाइ छ।
‘ई-कविता’को शुरुवात यही वैशाख १७ गते शनिबारदेखि हुने भएको छ। आमाको मुख हेर्ने दिन परेकाले उक्त दिन आमाहरू र अग्रजहरू प्रति सम्मान एवम् समर्पण स्वरूप कवि गोपाल प्रसाद रिमालको आमा शीर्षकको प्रसिद्ध कवितालाई कवि श्रवण मुकारूङले वाचन गरेका छन्।
'यस शृंखलामा अब तपाईं नेपालीभाषाका कविहरूका अप्रकाशित नयाँ सृजनाहरू साप्ताहिक रुपमा पढ्न र उनीहरूकै वाचनमार्फत् आफ्नो काव्यात्मक साहित्यिक प्यासलाई मेट्न सक्नु हुनेछ,' मुकारूङले भने।
सुरुको महिना पाठक तथा श्रोताले कविताहरू आफ्नो नाम दर्ता गरेर निः शुल्क पढ्न र सुन्न पाउने छन्। त्यसपछि निः शुल्क पढ्न पाउने कोटा महिनाको एउटा कवितामा सिमित गरिने छ र सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नु पर्नेछ।
सार्वजनिक भएको ई-कवितालाई नेपालयको पेज मार्फत वा यो लिंकमार्फत् भेट्न सकिन्छ।
यो कार्यको प्राविधिक विकास र व्यवस्थापन थुप्रै डटकमले गरेको छ। ई-बुक एपमार्फत् आफ्नो प्राविधिक दक्षता प्रदर्शन गरी सकेको थुप्रैले ई-कवितालाई आफ्नो ई-बुक एपबाट पनि पढ्न र सुन्न सक्ने गरी व्यवस्थापन गर्नेछ।
‘ई-कविता’मा उपलब्ध हरेक कविता १५ रुपैयाँमा उपलब्ध हुनेछन्। साथै पाँच सय २५ रुपैयाँको सहुलियत मूल्यमा यसको वार्षिक ग्राहक हुने व्यवस्था उपलब्ध छ। विदेशमा रहेका पाठक श्रोतालाई भने ५ अमेरिकी डलरमा वार्षिक ग्राहक सुविधा उपलब्ध गराइएको छ।