दिगो विकास अभियन्ता एवं गायक रोहन रत्न बागचन्दले नेपालगञ्जबाट जस्टिस कन्सर्ट सांगीतिक अभियानको थालनी गरेका छन्।
दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत संस्थाको स्थानीयकरणका लागि विभिन्न गतिविधि गर्दै आएका गायक बागचन्दले विश्वमा बढ्दै गएको विभेद, हिंसा, गरिबीका कारण पुनः सबै मानव जातिले न्यायप्रति प्रतिबद्धता जनाउनुपर्ने बताए। उनले ‘न्यायलाई नदीझै बग्न देऊ...’ भन्ने गीतबाट आफ्नो प्रस्तुती शुरू गरेका थिए।
गायक वागचन्दले नेपाली, अंग्रेजी र हिन्दी भाषाका गीतद्वारा दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।
उनले ‘जहाँ छन् बुद्धका आँखा’, ‘बब मार्ली गेट अप स्ट्यान्ड अप’, ‘नारायण गोपालको तिम्रो जस्तो मुटु मेरो गीत लगायत गीत गाएका थिए।
आफ्नो एकल सांगीतिक प्रस्तुती समापनका क्रममा महात्मा गान्धीको मनपर्ने भजन वैष्णव जन भन्ने भजन गाएर समापन गरेका थिए।
कार्यक्रममा न्यायपालिकासँग सम्बन्धित व्यतित्व, वकिल, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी, न्यायिक समितिका पदाधिकारी, मानवअधिकारकर्मी र पत्रकार गरी करिब १०० जनाको उपस्थिति थियो।
कार्यक्रमका परिकल्पनाकार प्रभाकर बागचन्दले संगीतले मानिसमा न्याय दिने भन्दै एकले अर्काको पीडा महसुस गर्ने क्षमताको समेत विकास हुने बताए।
आयोजक सूचनाको हकका लागि राष्ट्रिय महासंघका तर्फबाट अभियन्ता विश्वजीत तिवारीले यस जस्टिस कन्सर्टलाई अभियानको रुपमा ७६ जिल्लामा आयोजना गर्ने सोच रहेको बताए।