फिल्म बुलबुलमा रणकलासँगै अर्का मुख्य पात्रको पनि खुब नाम आयो- टेम्पो चालक चोपेन्द्र।
रणकलाका रूपमा स्वस्तिमा खड्काको अभिनय जति दमदार थियो, चोपेन्द्र बनेका मुकुन भुसालको कम्ती थिएन। अझ मुकुनको यो पहिलो फिल्म हो।
पहिलो कामबाटै दर्शकको मनमा बस्न र सम्झिनलायक कलाकार बन्न मुकुनलाई मुश्किल परेन। तर यो मुकामसम्म आइपुग्न उनले कठिन भर्याङहरू उक्लिएका छन्।
अभिनय गर्नु उनको सपना पनि थिएन।
'मैले अभिनयबारे सोचेकै थिइनँ, सानोदेखिको सपना पनि होइन,' मुकुनले सेतोपाटीसँग भने।
खासमा मुकुन अभिनयसँग नजिकिएका धेरैपछि हो। अर्घाखाँचीमा जन्मे-हुर्केका उनी एसएलसी दिएर काठमाडौं आएका थिए। त्यो बेला जम्मा १६ वर्षे ठिटोलाई काठमाडौंले चकित खुवाउँथ्यो।
'म यहाँ आकाशे पुलबाट सडकमा वेगले गुडिरहेका गाडी नियाल्थेँ,' उनले सम्झिए, 'एकपछि अर्को टाँसिएका अग्ला घर। जताततै थुप्रिएको फोहोर। मलाई आफ्नो गाउँ नै निको लाग्यो।'
काठमाडौंको विशेषता के भने, जति नै नराम्रो लागे पनि हत्तपत्त मान्छे यहाँबाट उम्किन सक्दैनन्। खेतीकिसानी गरेर हुर्केका मुकुनको मन भलै यहाँ नरमेको होस्, भविष्य यहीँ खोज्नुपर्छ भन्ने लाग्यो।
यो भिडको कुन समूहमा आफू मिसिने त? किशोर उमेरका मुकुनलाई पुलिस देख्दा पुलिस बन्न मन लाग्थ्यो। सेना देख्दा सेनै बन्न। अहिले आकाशमा हवाइजहाज उडेको देख्दा पाइलटै बनिहालूँ झैं हुन्थ्यो।
परिवारका कान्छो छोरा मुकुन भन्छन्, 'काठमाडौंमा कता के नमिलेजस्तो भयो। बानी पर्न समय लाग्यो, बिस्तारै रमाइलो लाग्दै गयो।'
सहर पसेपछि उनले गाउँमा बस्दा हेरेका फिल्म सम्झिए। बाबुआमासँग बसेर फिल्म हेरेको अझै भुलेका छैनन्। भने, 'घरको काम सकेपछि फिल्म हेर्थ्यौं। खुब रमाइलो हुन्थ्यो।'
मुकुन नेपाली र हिन्दी दुवै फिल्म मन पराउँथे। फिल्मको कथा राम्रो छ भने जुन भाषाको भए पनि रूचाउँथे। उनी अहिले पनि त्यस्तै छन्।
उनलाई विशेषगरी सामाजिक विषयमा आधारित र सकारात्मक सन्देश दिने फिल्म बढी मन पर्थ्यो। फिल्म हेर्ने सुरूआती दिनमा त यस्ता फिल्मले उनको मन उद्वेलित बनाउँथ्यो। फिल्मको रसले उनलाई पात्रको नक्कल गर्ने पनि बनाउँथ्यो। किशोरावस्थाको त्यो उद्वेलन बिस्तारै हराउँदै गयो।
एसएलसीपछि राजधानीमा दुई वर्ष पढे। यसपछि उनी भारत पुगे। भारतीय सिनेमा जगत नियाल्दै गर्दा उनलाई सिनेमै क्षेत्रमा लाग्ने हुटहुटी जाग्यो। भारतमा उनले अभिनयको एउटा छोटो कोर्स गर्ने मौका पाए। यसपछि काठमाडौं फर्केर उनी स्नातक तहमा भर्ना भए।
विद्यार्थीका रूपमा काठमाडौंमा बसिरहेका मुकुनलाई घरबाट सधैं खर्च माग्न अप्ठ्यारो हुन थाल्यो। उनी आत्मनिर्भर हुन पैसा कमाउने ध्याउन्नमा लागे। पैसा कमाउन काठमाडौं सहज थिएन। उनी आफ्नै गाउँ फर्के। त्यहाँ ग्यारेज खोले। सोचेजस्तै आम्दानी हुँदै गयो।
'समाजमा साना भनिने कामहरू नै मेरा लागि ठूला हुन्। मेरा लागि सबभन्दा माथिल्लो दर्जाको काम कृषि हो, खासमा मलाई किसान हुन मन पर्छ,' उनले भने।
तर एक दिन अचानक उनको सोचले 'युटर्न' मार्यो। गाउँमै बस्न र खेतीकिसानी गर्न मन पराउने मुकुनले एकाएक ग्यारेज बन्द गरे। घरसल्लाह पनि नगरी फेरि काठमाडौं फर्के।
'मलाई आजसम्म थाहा छैन त्यस दिन मलाई केले हिँडायो,' उनी भन्छन्। सायद काठमाडौंको विशेषता नै हो, जति नै नराम्रो लागे पनि हत्तपत्त मान्छे यहाँबाट उम्किन सक्दैनन्।
काठमाडौं आएपछि उनले पढाइलाई निरन्तरता दिने सोचे। भारतमा अभिनय कोर्स सम्झे, फिल्म पढ्न उक्सिए। उनी फिल्म स्टडिज पढाइ हुने ओस्कर कलेजमा भर्ना भए।
उनले भने, 'पहिला भारतमा अभिनयको कोर्स गर्दा बहुत मजा आएको थियो। यसैले फिल्मसम्बन्धी पढ्ने विचार गरेँ।'
फिल्मी क्षेत्रको विद्यार्थी भएपछि मुकुन फिल्ममै तानिँदै गए। पढाइकै क्रममा उनले कलेजको एक कार्यक्रममा आफ्नो कला देखाउने अवसर पाए। उनले भूतपूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यको जेलभित्रको अभिनय गरे। यही अभिनयले उनलाई फिल्ममा अभिनयको हुटहुटी जगाइदियो।
सिनेमा पढाइमा उनले कला र कलाकारिताको भाषाशैली बुझ्दै गए। कलेजमा हुने हरेक अभ्यासमा उनलाई समाजका कुरा फिल्मले बोल्नुपर्छ भन्ने लाग्न थाल्यो। कलेजको अभ्यासकै क्रममा उनले सामाजिक विषयमा आधारित संक्षिप्त कथाको पात्र बनेर अभिनय गरे। उनको अभिनयले शिक्षकको ध्यान तान्दै गयो।
फिल्ममा स्नातक तहको पढाइ पूरा भयो। यसपछि फिल्मी क्षेत्रमा काम पाउनेमा ढुक्क थिए। सोचेजस्तो सजिलो किन हुन्थ्यो! उनलाई कसैले पनि अवसर दिएन।
उनी फेरि भारत हानिए। उतै स्नातकोत्तर तहको पढाइ पूरा गरे। अनि स्वदेश फर्किए। फर्केको दुई दिनमै उनको जीवनमा नयाँ मोड आयो। ओस्कर कलेजका प्रधानाध्यापक समेत रहेका निर्देशक विनोद पौडेलको फोन आयो।
'उहाँले अभिनयका लागि प्रस्ताव गर्नुभयो। मलाई कथा मन पर्यो। ओके भनेँ,' मुकुनले सुनाए।
यही हो उनले पहिलो अभिनय गरेको फिल्म 'बुलबुल'। उनको अभिनय उत्कृष्ट नै ठहरियो, मुकुन पात्र चोपेन्द्रकै नामले चिनिए।
बुलबुलले उनलाई नेपाली फिल्ममा अझ तान्यो। धेरै सिकायो पनि। घरमा बसेर सिनेमा हेर्दै टिप्पणी गरेजस्तो सजिलो अभिनय होइन रहेछ भन्ने थाहा पाए।
'अभिनयमा डाइलग बोल्दा र कथाको जस्तै पात्र बन्नु पर्दा निकै गाह्रो हुँदो रहेछ भन्ने महसुस भयो,' मुकुनले आफ्नो अनुभव सुनाए, 'छोटो फिल्ममा अभिनय गरिराखेकोले सहयोग त भयो तर सजिलो भएन।'
उनलाई समाज रूपान्तरणसँग बढी सरोकार छ। समाजसँग जोडिएका कथामा भिज्न मन पराउँछन्। फिल्म भनेको समाजको ऐना हुनुपर्छ भन्ने उनको मान्यता छ। यही आधारमा उनी फिल्ममा काम गर्छन्।
'फिल्मको हिरो वास्तविक जीवनको जस्तै हुनुपर्छ,' मुकुन भन्छन्, 'फिल्ममा हिरोहरू सधैं न्यायका लागि बोल्ने र सत्यको पक्षमा खडा हुने देखिन्छन्। उनीहरू वास्तविक जीवनमा पनि त्यस्तै हुन सक्नु पर्छ।'
बुलबुल नेपाली समाजको कथा हो। मुकुनको रस सामाजिक विषयमै छ। हाल उनी पाँच वटा फिल्ममा फरकफरक पात्रको भूमिकामा छन्।
'फिल्मसम्बन्धी पढाइले पनि सहज बनायो,' उनी भन्छन्, 'फिल्म खेल्न अध्ययनको ठूलो महत्व हुन्छ।'
बुलबुलपछि उनले केही म्युजिक भिडिओमा अभिनय गर्ने मौका पाए। यसले उनको सार्वजनिक पहिचान झन् बढी फराकिलो बनायो। आफ्ना गाउँमा उनी गतिलो कलाकारका रूपमा परिचित छन्।
भन्छन्, 'गाउँ पुग्दा सबै खुसी हुन्छन्। बालबालिका, युवा र बुढापाकाहरू फिल्मको कुरा सुन्न झुम्मिन्छन्।'
बुलबुलपछि उनी फिल्ममा देखिएका छैनन्।
उनलाई लाग्छ- धेरैले उनलाई बुलबुलमा जसरी चोपेन्द्र पात्र आउँछ र जान्छ, मुकुन पनि फिल्मी दुनियाँमा त्यसरी नै आएर गयो भन्छन्।
तर उनी कहीँ गएका छैनन्। लगातार अभिनयमै छन्। दर्शकले उनको अभिनय देख्न नपाउनुमा कोरोना मुख्य कारण हो। लकडाउनका कारण उनका फिल्महरू रोकिए। बुलबुलपछि उनले 'झिँगेदाउ' मा अभियन गरे। यो आगामी भदौ ३१ गते रिलिज हुँदैछ। त्यस्तै उनको अभिनय रहेको 'गणपति' फिल्मको पोस्टर केही समयअघि सार्वजनिक भएको छ। यसमा उनी बुलबुलमा भन्दा निकै फरक पात्रको अभिनयमा देखा पर्ने छन्।
यसबाहेक उनका 'म राजेश हमाल' र 'विच्छेद' फिल्म पनि तयार छन्।
'म अभिनय गरिरहेको छु, गरिरहन्छु। सिनेमामा आएँ र गएँ भन्ने होइन,' उनले भने।
मुकुनले कोरोना लकडाउनका समय अभिनय कक्षामा पनि बिताए। त्यो समयमा उनले सिनेमा क्षेत्रमा सम्भावना देखेका ७० जनालाई निःशुल्क 'सिनेमा एक्टिङ क्लास' मा सहभागी गराए।
'मौका छुटेपछि छुट्यो। त्यसलाई समाउन दौडिएर पर्यो या त्याग्नु पर्यो। म मौका त्याग्नु हुँदैन भन्ने ठान्छु,' उनी भन्छन्, 'सुन्न चाहनेलाई भन्नुपर्छ। सिक्न चाहनेलाई सिकाउनुपर्छ।'
फिल्म समाजको कथा हो, त्यसैले फिल्मी क्षेत्रमा काम गर्नेहरू संवेदनशील हुन आवश्यक हुन्छ भन्छन् मुकुन, 'फिल्मको कथा कुनै पनि समुदायका लागि मजाकको विषय बन्नु हुँदैन।'
उनको विचारमा फिल्म निर्माता अध्ययनशील हुनुपर्छ। समाज बुझेको व्यक्तिले मात्रै समाजउपयोगी फिल्म बनाउन सक्छ।
'फिल्म निर्माताले समाजको अध्ययन जसरी गरेका हुन्छन् र समाज जसरी बुझेका हुन्छन् त्यसरी नै समाजलाई फिल्ममा उतार्छन्,' मुकुनले भने, 'यसकारण निर्माताले समाज गहिरोसँग बुझेको हुनुपर्छ। फिल्म कस्तो बन्छ भन्ने कुरा निर्माताको बुझाइमा भर पर्छ।'
दर्शकले फिल्ममा पात्रको सुन्दरताभन्दा पनि कथा र अभिनयको चर्चा गर्ने अवस्था हुनुपर्छ भन्ने उनको मान्यता छ। उनी आफ्नो अभिनयबाट दर्शकको मन जित्न चाहन्छन्। उनलाई फिल्म सिकाउने एउटा आश्रम बनाउने इच्छा पनि छ। कुनै दिन उनले यस्तो आश्रम खोल्न सक्नेछन्।
'शरीर, अनुहार र छालाको सौन्दर्यले कलाकार बन्ने मान्यता पुरानो भयो। पात्रअनुकूलको अभिनयले मात्रै कलाकार स्थापित हुन्छ भन्ने मान्यता बलियो भएको छ,' मुकुनले भने, 'कलाकारितामा भिज्न तयारी चाहिन्छ, अध्ययन चाहिन्छ। युवाहरूलाई यी कुरा सिकाउन आवश्यक छ।'
भिडिओ- सुसन चौधरी/सेतोपाटी