ट्राभल रियालिटी शो 'इम्याजिन नेपाल' वैशाख २२ गते बिहीबारबाट प्रसारण हुने भएको छ। उक्त रियालिटी शोमा वृत्तचित्र (डक्युमेन्ट्री) बनाउन सात जना भिडिओ निर्माता निर्देशक समूहबीच प्रतिस्पर्धा हुनेछ।
प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र बनाउन प्रतिस्पर्धा गर्न आफ्नो सात जनाको टोलीसँग नेपालका सात प्रदेशको भ्रमण गर्नेछन् र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन्।
प्रदेश १ बाट सहानाको समूह, मधेस प्रदेशबाट घुमन्तेको समूह, बागमती प्रदेशबाट मानसीको समूह, गण्डकी प्रदेशबाट दर्शनको समूह, लुम्बिनी प्रदेशबाट किशोरको समूह, कर्णाली प्रदेशबाट अबिनको समूह र सुदूरपश्चिम प्रदेशबाट नेपाल फुडको समूह छन्।
पहिलो एपिसोड वैशाख २२ गते बिहीबार राति ९ बजे कान्तिपुरमा र इम्याजिन नेपालको आधिकारिक युट्युब च्यानलबाट १० बजे प्रसारण हुनेछ।
भुषण दाहाल मुख्य निर्णायक रहेको शोमा सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सनको रूपमा देखिँदैछन्। यात्राका रोमाञ्चक कथाहरूसँगै १६ फरक एपिसोडको रूपमा टेलिभिजन मार्फत प्रसारणमा गरिनेछ।
सन् २०१६ देखि इम्याजिन नेपाल हरेक वर्ष प्रभावशाली व्यक्तित्वहरूलाई लिएर देशभरिका अदभुत रमणीय ठाउँहरूमा पुगिरहेको र डिजिटल माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरिरहेको छ। यस वर्ष भने महिन्द्रा राइजको प्रस्तुतिमा इम्याजिन नेपालले एक रियालिटी शो नै प्रसारण गर्न लागेको हो।