आज शुक्रबारबाट हलमा दुई नेपाली फिल्म र एक हलिउड फिल्म प्रदर्शनमा आएका छन्।
हास्य व्यंग्य विधाको फिल्म 'लक्का जवान' र थ्रिलर विधाको फिल्म 'षट्कोण' सँगै हलिउड फिल्म 'डाक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस' प्रदर्शनमा आएका हुन्।
कोरोना महामारीपछि सातामा एक नेपाली फिल्म प्रदर्शन हुँदै आएको थियो। यो साता भने दुई नेपाली फिल्म एकसाथ प्रदर्शन आएको हो।
हास्य कलाकार शिवहरि पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म 'लक्का जवान' पारिवारिक कथालाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेलको मुख्य भूमिका छन् भने अन्य कलाकार सुरेन्द्र केसी, दिवंगत जयनन्द लामा, सरोज खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अन्जु महर्जन, नरेन्द्र कंशाकर लगायतका कलाकारको पनि अभिनय छ।
निर्देशक पौडेलकै कथा र पटकथामा रहेको फिल्मलाई अन्सुया श्रेष्ठले निर्माण गरेकी छन्।
धुर्व वन्तको प्रस्तुति रहेको फिल्म आमा बंगलामुखी फिल्म्सको ब्यानरमा बनेको हो। पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन्।
कार्म अभिनित फिल्म 'षट्कोण'मा मर्डर मिस्ट्रीको अनुसन्धानको क्रममा आउने उताब चढाबलाई देखाइएको छ। फिल्मलाई मिलन डि काप्रिले निर्देशन गरेका हुन्। 'षट्कोण' उनको डेब्यू निर्देशन फिल्म हो।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा कार्मसँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय छ।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन्। आङ्छेन लामाले छायांकन गरेको फिल्मलाई सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन गरेका छन्।