दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म 'के घर के डेरा'को शुभमुहूर्त गरिएको छ। शुक्रबार स्वंयम्भुस्थित हारती माता मन्दिरमा शुभमुहूर्तसँगै फिल्मको एक दृश्य पनि छायांकन गरिएको छ।
अहिले शुभमुहूर्त गरिएपनि फिल्मको नियमित छायांकन जेष्ठ २ गतेबाट मात्रै गरिने निर्देशक खनालले जानकारी दिए। ३० दिन छायांकन सेड्युल राखिएको फिल्मको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिनेछ।
फिल्मका अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित बनाएको बताए। फिल्मले काठमाडौंमा बस्ने सम्पूर्णको जीवनसँग मिल्दोजुल्दो हुने उनको भनाई छ।
फिल्ममा विपिन कार्कीसँगै दयाहाङ राई, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ। सिंगे लामाको कथा रहेको फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।
ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। फिल्ममा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन्।
दिर्घ गुरुङले छायांकन गर्ने फिल्मलाई दिर्घ खड्काले सम्पादन गर्नेछन्। तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।
फिल्म यहि वर्ष प्रदर्शन गर्न बताइएको छ।