दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्म 'हनी बनी'मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन्।
फिल्ममा अभिनेत्री जसिता अनुबन्धित भएको जानकारी निर्देशक भट्टराईले आफ्नो फेसबुक मार्फत दिएका हुन्। उनले जसितासँगको तस्बिर पोस्ट गर्दै लेखेका छन्, 'जसितालाई हनी बनीमा स्वागत छ!'
यसअघि 'हनी बनी'मा सारा सिर्पाइली अनुबन्धित भएकी थिइन्। उक्त फिल्मको छायांकन लन्डनमा हुने भएकोले साराको भिसा नलागेपछि फिल्म छोड्नु परेको बताइएको छ। उनको ठाउँमा लन्डनमै बस्दै आएकी अभिनेत्री जसितालाई फिल्ममा लिइएको हो।
छायांकनमा जाने तयारी हुँदै गर्दा अभिनेता अनमोल केसीले पनि फिल्म छाडेका छन्। तर, फिल्मको लागि अभिनेताको भने टुंगो लागेको छैन।
अभिनेत्री जसिताले 'ललिबिली' बाट डेब्यू गरेकी हुन्। उनले 'लभ स्टेशन'मा पनि काम गरिसकेकी छन्। दुवै फिल्ममा उनले अभिनेता प्रदीप खड्कासँग काम गरेकी थिइन्।
हाल जसिता 'आइ एम ट्वान्टी वान'को प्रदर्शनको पर्खाइमा छिन्। रेनाशा बान्तवा राईले निर्देशन गरेको फिल्ममा जसिता र धिरज मगरको मुख्य भूमिका छ।