कोरोना महामारीपछि नेपाली फिल्महरूले बजार लिन सकेका छैनन्। दक्षिण भारतीय फिल्मले नेपाली बक्स अफिसमा तहल्का मच्चाइ रहँदा नेपाली फिल्ममा दर्शक न्यून छन्।
नयाँ वर्षको अवसर पारेर प्रदर्शन गरिएको फिल्म ‘ए मेरो हजुर ४’ ले दर्शकको साथ राम्रै पाएको थियो। २६ औं दिनसम्म आइपुग्दा यो फिल्म हलबाट उत्रिएको छैन। तर गत साता शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘षट्कोण’ तीन दिनमै मल्टिप्लेक्स हलबाट उत्रिएको छ।
गत शुक्रबारबाट दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’सँगै हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ प्रदर्शनमा आएको थियो। हलिउड फिल्मले दर्शकको साथ राम्रो पाइरहेको छ। दुई नेपाली फिल्मले भने दर्शकको साथ पाउन सकेको छैन।
साइकोलोजिक थ्रिलर फिल्म ‘षट्कोण’ले राम्रो समीक्षा पाएको थियो। तर, दर्शकको साथ पाउन सकेन। जसको कारण फिल्म तीन दिनमै उत्रिएको छ।
त्यस्तै, कमेडी जनराको फिल्म ‘लक्का जवान’लाई पनि मल्टिप्लेक्स हलमा न्यून शो दिइएको छ।
अहिले पनि नेपाली बक्स अफिसमा दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ र ‘आरआरआर’ कै दबदबा कायम छ।
कार्म अभिनित फिल्म ‘षट्कोण’मा मर्डर मिस्ट्रीको अनुसन्धानको क्रममा आउने उताब चढाबलाई देखाइएको छ। फिल्मलाई मिलन डि काप्रिले निर्देशन गरेका हुन्। ’षट्कोण’ उनको डेब्यू निर्देशन फिल्म हो।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा कार्मसँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय छ।
शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन्। आङ्छेन लामाले छायांकन गरेको फिल्मलाई सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन गरेका छन्।