हास्य कलाकार जीतु नेपालले निर्माता तथा अभिनेता दीपकराज गिरी र उनको टिमसँग फिल्म '६ एकान ६' बाट सहकार्य सुरू गरेका थिए। त्यसपछि उनीहरूले 'वडा नम्बर ६', 'छक्का पञ्जा', 'छक्का पञ्जा २', 'छक्का पञ्जा ३', 'छ माया छपक्कै' निर्माणमा पनि सहकार्य गरे।
उनीहरूको सहकार्यमा बनेका फिल्मले बक्स अफिसमा तहल्का मच्चायो। तर कोरोना महामारीको समयमा फिल्मी क्षेत्रको 'महानायक' को भन्ने विवादपछि दीपाश्री निरौला 'मुन्द्रेको कमेडी क्लब' बाट बाहिरिन्।
यस विवादले उनीहरूबीच व्यावसायिक सहकार्य पनि टुटेको अड्कलबाजी चल्न थाल्यो। हलमा बज्न थालेको फिल्म 'छक्का पञ्जा ४' को ट्रेलरमा जीतु देखिएका छैनन्। त्यसैले उनीहरूको सहकार्य टुटेको चर्चा चलेको हो।
हालै जीतु नेपालका छोराको व्रतबन्धमा दीपक र दीपा पनि सहभागी भएका थिए। उनीहरूको सहभागिताले अर्का चर्चा सुरू भएको छ।
'छक्का पन्जा ४' मा जीतु नेपाल पनि हुने सम्भावना!
फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले 'छक्का पन्जा ४'मा जीतु नेपाल हुने कुरा अन्यौलमा रहेको बताएका छन्।
'अहिलेसम्म हामी नै अन्यौलमा छौं। अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ। त्यसैले हामी कसरी जान्छौं भन्ने टुंगो लागेको छैन,' उनले भने, 'सानो मनमुटावका कारण काम नै नगर्ने भन्ने चाहिँ हुँदैन। फिल्मको स्क्रिप्ट कस्तो बन्छ त्यसमा भर पर्छ।'
दसैंमा प्रदर्शन गर्ने लक्ष्यसहित फिल्मको काम भइरहेको अभिनेता दीपकले जानकारी दिए।