अनामनगरस्थित 'एस्थेटिक डान्स सेन्टर'ले नृत्य केन्द्रीत पुस्तकालय बनाउने जमर्को गरेको छ। मंगलबार पुस्तकालय निर्माणकै लागि चन्दा उठाउन एस्थेटिकले थापागाउँस्थित मण्डला नाटक घरमा ‘नृत्य शृंखला’ अन्तर्गत दोस्रो प्रस्तुति दिएको थियो।
गत वैशाख १९ गते मुसलधारे वर्षाबीच भएको कार्यक्रममा धेरैजना उपस्थित हुन नपाएपछि मंगलबार दोस्रो पटक कार्यक्रम गरिएको हो। दोस्रो शृंखला ‘नृत्य शृंखला ०.२’ मा उनीहरूले प्रदर्शनकारी कला अन्तर्गत नृत, नृत्य र नाट्यमा विभाजन गरेर आफ्नो प्रस्तुति दिएका थिए।
'नृत' मा भाव–अभिनय कम र अंग संचालन बढी हुन्छ। एस्थेटिककी संस्थापक नम्रता केसीले यसमा अष्टनायिका अभिसारिकाको साहसको कथामा एकल प्रस्तुति दिइन्। बाटोमा आउने जस्तोसुकै समस्याले अभिसारिकाको साहसलाई हल्चल गराउन नसकेको कथा उक्त नृतमा देखाइएको थियो।
'नृत्य' अन्तर्गत एस्थेटिकका कलाकारहरूले श्रीकृष्णको ‘माखन चोरी’ को कथा देखाए। श्रीकृष्णको लिला देखेर उनकै आमा यशोदा कति हैरान थिइन् भन्ने उक्त नृत्यबाट देख्न सकिन्थ्यो।
'नाट्य' भनेको संगीत र नाचको लयमा अभिनयमार्फत कथा भन्ने शैली हो। यो शैलीमा बाल यौन दुर्व्यवहारको कथा देखाइएको थियो। स्कुलमा पढ्ने विद्यार्थीलाई शिक्षकले गरेको दुर्व्यवहारले कसरी मानसिक असर पुर्याउँछ भन्ने कथा देखाइएको थियो।
अन्तिममा उनीहरूले अमेरिकी लेखक-अभियन्ता माया एन्जेलोको कविता ‘फेनोमेनल वुमन’ मा प्रस्तुति दिए। सन् १९७८ मा प्रकाशित उक्त कविताले 'महिलाहरू यस्तो हुनुपर्छ' भनेर समाजले कोरिदिएको सीमा स्विकार गर्दैन। आफू जस्तो हो त्यसमै आत्मविश्वास बटुल्दै महिला सशक्तिकरणको सन्देश दिन्छ।
कार्यक्रम प्रस्तोता सिर्जना पोखरेलले भनेझैं ‘कत्थक कथा हो, कथा कत्थक हो’ भन्ने कुरा उक्त प्रस्तुतिहरूबाट झनै स्पष्ट हुन्थ्यो। करिब १ घण्टा लामो शृंखलामा एस्थेटिककी संस्थापक नम्रता केसीसँगै चन्द्रिका ठाकुर, अनुपमा केसी, दिपिका खतिवडा, संगम विष्ट, कुन्ति सिंह आले, मनिषा श्रेष्ठ लगायतले प्रस्तुति दिएका थिए।
संस्थापक नम्रताले भारतको लखनउ विश्वविद्यालयबाट कत्थकमा स्नातकोत्तर गरेकी हुन्। २०७२ सालमा त्यहाँबाट फर्केर उनले ‘एस्थेटिक डान्स सेन्टर’ स्थापना गरिन्। नृत्यसम्बन्धी संस्थागत कार्यशाला र तालिमहरू दिइन्। यसअघि उनले नृत्य–नाटक स्वान लेक, राजेन्द्रलक्ष्मी र ज्यानमाया बनाइसकेकी छन्। आगामी दिनमा पनि नृत्य–नाटकहरू बनाउने उनको योजना छ।
यसपटकको नृत्य शृंखलाबाट उठेको रकमले भने नाच केन्द्रीत पुस्तकालय बनाउने उनले बताइन्।
‘नृत्य सिकिरहेका र नृत्यबारे जान्न चाहनेका लागि खासै गतिलो पुस्तकालय छैन। त्यही भएकाले एस्थेटिक डान्स सेन्टर नाच सिक्ने मात्र नभई नाचबारे पढ्ने ठाउँ पनि बनोस् भन्ने इच्छा छ,’ उनले भनिन्।
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ