२५६६ औं बुद्ध पूर्णिमाको अवसरमा रूपन्देहीका युवाले आधुनिक संगीतसहितको बौद्ध गीत एवम् म्युजिक भिडिओ सार्वजनिक गरेका छन्। भगवान बुद्धका प्रमुख शिक्षाहरूबाटै मानवमा शान्तिको बास हुनसक्छ भन्ने मूल सन्देश गीतले बोकेको छ।
आफैंले खोज्नेले शान्ति पाउँछ, सांसारिक सुख भ्रम हो भन्ने आशयको यो गीत कर्णप्रिय छ। युवा वर्ग लक्षित संगीत र बौद्ध चेतनास्तर समेटिएको यो गीत निर्माणकर्ताको युट्युब च्यानलमार्फत् रिलिज (सार्वजनिक) गरिएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत मञ्जिल सुवेदीको शब्द र संगीतमा रहेको गीतमा सुजील कर्माचार्यको संगीत संयोजन छ भने रचनाकार मञ्जिल सुवेदी र मनिष अधिकारीले आवाज दिएका छन्।
यो भिडिओमा नेपाल सरकारका शाखा अधिकृत मधुसुदन भट्टराईको मुख्य अभिनय छ।
भारतमा २ वर्षसम्म चलचित्र निर्माणसम्बन्धी अनुभव लिएका निर्देशक मृत्युञ्जय गैह्रे (लक्ष्मण) ले गीतको जीवन्तता र भाव समेट्न लुम्बिनीमै विशेष रूपमा भिडिओ तयार गरिएको जानकारी दिए।
यो भिडिओ भिन्दै प्रकारको बनेको, एकपटक पूरै हेरेपछि शान्तिको आभाष हुने र तनाव कम गर्न पटकपटक रूचिपूर्वक हेर्न मिल्नगरी बनाइएको बताए। गीतमा चतुरार्यसत्य, आर्यअष्टांगिक मार्ग, चतुर्ब्रह्मविहार, प्रतित्य समुत्पाद, आदि बौद्ध ज्ञानका सूत्रसमेत समेटिएको छ।