काठमाडौं जमलस्थित विश्वज्योती हललाई परिमार्जन गर्दै मल्टिप्लेक्सको रुपमा सुरु गरिएको छ।
सोमबारबाट सट ओपनिङ गर्दै हललाई विश्वज्योती सिनेप्लेक्सको रुपमा पुनः सञ्चालन ल्याइएको हो।
ओपनिङमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर्माता आकाश अधिकारी, शिवहरी पौडेललगायत सहभागी थिए।
पहिलो पटक विश्वज्योती हलबाट नै फिल्म हेरेको मदनकृष्ण र हरिवंशले बताए। उक्त हललाई परिमार्जन गरेर दर्शकलाई थप सेवासुविधा दिने तरिकाले सुरु हुन लागेकोमा उनीहरुले खुसी व्यक्त गरे।
हलका संचालक मोहन सराफका बाबु गरिबनाथ सराफले विसं २०१७ बाट हलको सुरुवात गरेका थिए। ‘पहिला यो हल गोठजस्तो थियो। अब हामीले यसलाई मल्टिप्लेक्स बनाएका छौँ,’ मोहनले भने।
भवन पुरानो भएपछि तीन वर्षअघि हल बन्द गरिएको थियो।
मोहनले संचालन गर्दै आएको उक्त हल उनका छोरा रुसानसिंह सराफले संचालन गर्ने भएका छन्। अन्य हलको तुलनामा दर्शकलाई चित्त बुझ्ने टिकटको व्यवस्था रहेको रुसानले बताए।
विश्वज्योति मल्टिप्लेक्समा दुई पर्दा छन्। ठूलाे पर्दामा २०१ र सानाे पर्दामा ८९ सिट क्षमता रहेकाे छ।
शुभारम्भको दिन हलमा नेपाली फिल्म ‘लक्का जवान’ र बलिउड ‘जयशभाइ जोरदार’ देखाइएको थियो। यो हल शुक्रबारदेखि नियमित सञ्चालनमा ल्याउने योजना रहेको बताइएको छ।