अभिनेत्री तथा निर्देशक झरना थापा ‘भागवत गीता’ निर्देशनको तयारीमा छिन्।
छायांकन सुरु नहुँदै फिल्मको अमेरिका राइट्स बिक्री भएको छ।
फिल्मको राइट्स महंगो मूल्यमा नमस्ते इन्टरटेनमेन्ट अमेरिकाका अमृत राई, खेम गुरुङ र जंग राईको टोलीले खरिद गरेको हो।
प्रेम कथामा आधारित फिल्मलाई होम प्रोडक्सनबाट सुनिल कुमार थापाले निर्माण गर्न लागेका हुन्।
फिल्ममा झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहनेछ। फिल्मको लागि अभिनेता छनोट भए पनि केही समयपछि सार्वजनिक गरिने बताइएको छ।
केही दिनअघि जनकपुर पुगेर निर्माण टोलीले टिजरसमेत छायांकन गरिसकेका छन्। उक्त टिजरमा सुहानालाई मात्र समावेश गरिएको छ। यो फिल्मको छायांकन श्रावणको अन्तिम साताबाट सुरु हुनेछ।
हाल फिल्मको स्कृप्ट लेखन र प्रि-प्रोडक्सन काम धमाधम भइरहेको निर्देशक थापाले बताइन्।
यो फिल्मसँगै वैशाख १ गतेबाट प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ को पनि अमेरिका राइट्स बिक्री भएको छ। फिल्म प्रदर्शनको लागि झरना थापा, सुनिलकुमार थापा र सुहाना थापा अमेरिका पुगेका छन्।
झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका छ।