नेदरल्यान्ड्सको एक स्थानीय अनलाइन सञ्चारमाध्यमले गत शुक्रबार एक समाचार प्रकाशन गर्यो। 'ब्युटी एन्ड फेसन' विधामा प्रकाशित उक्त समाचार यसपालिको कान्स फिल्म फेस्टिभलमा उपस्थित सेलेब्रेटीहरूले लगाएको पहिरनबारे छ।
कान्सको रेड कार्पेटमा आकर्षक पहिरन लगाउने संसारभरका १५ महिला सेलेब्रेटीको उक्त सूचीमा नेपाली अभिनेत्री सुरक्षा पन्त पनि परेकी छन्।
सुरक्षाले फ्रेन्च फिल्म 'द एट माउन्टेन्स' मा सानो भूमिका निर्वाह गरेकी थिइन्। गत बुधबार कान्समा यो फिल्मको प्रिमियर थियो। यही फिल्मको प्रतिनिधित्व गर्दै उनी फ्रान्स पुगेकी हुन्।
कान्सको रेड कार्पेटमा आधिकारिक रूपमा 'हिँड्ने' पहिलो नेपाली अभिनेत्री बनेसँगै उनको चर्चा चुलियो। योसँगै उनले लगाएको आकर्षक रातो पहिरनको उत्तिकै चर्चा भयो। नेदरल्यान्ड्सको उक्त अनलाइन सञ्चारमाध्यमले पनि यही पहिरनको चर्चा गरेको हो।
उक्त समाचारमा सुरक्षाको तस्बिरसँगै लेखिएको छ- सुरक्षा पन्तले 'द एट माउन्टेन्स' मा अभिनय गरेकी छन्। उनी तेन्जिङ छेतेन भुटियाले डिजाइन गरेको सुन्दर पहिरनमा रेड कार्पेटमा देखिइन्।
हामीले कान्सका लागि सुरक्षाको उक्त पहिरन डिजाइन गर्ने उनै तेन्जिङसँग कुराकानी गर्यौं।
तेन्जिङले यो लुगा बनाउँदाको अनुभव सुनाए।
कान्समा छोटो फिल्म 'लोरी' पनि छनोट भएको थियो। उक्त फिल्म टोलीका निम्ति लुगा डिजाइन गर्ने जिम्मा उनले पाएका थिए। विभिन्न कारणले 'लोरी' टोलीका लागि डिजाइन गर्न सकेनन्।
संयोगवस कान्समै जान लागेकी सुरक्षा उनीसँग जोडिइन्। तेन्जिङलाई सुरक्षाको लुगा डिजाइन गर्ने अवसर फिल्मकर्मी सुदिप्ता अधिकारीले जुराइदिएकी थिइन्।
'भाग्यले जुराएरै होला सुरक्षाको ड्रेस डिजाइन गर्न सफल भएँ,' तेन्जिङले सेतोपाटीसँग भने।
तेन्जिङले पाँच वर्षअघि नै सुरक्षालाई भेटेका थिए। एक म्यागेजिनका लागि फोटोसुट गर्न सुरक्षाले उनकै डिजाइनमा तयार भएको लुगा लगाएकी थिइन्। तर त्यो बेला उनले सुरक्षाकै लागि भनेर डिजाइन गरेका थिएनन्। तेन्जिङले तयार पारिसकेको लुगा सुरक्षाले पहिरिएकी थिइन्।
यसपछि उनीहरूको भेट भएन।
केही दिनअघि एकाएक सुरक्षा तेन्जिङको दरबारमार्गस्थित फेसन हाउसमा आइन्।
'सुरक्षा मलाई निकै सरल स्वभावकी लाग्यो। उनमा अभिनेत्री हो भन्ने खालको कुनै अहम थिएन,' तेन्जिङले भने, 'उनीसँग कुराकानी गर्दा बाटोमा भेटिएको साधारण व्यक्ति जस्तै लाग्यो।'
एकैछिन कुरा गर्दै उनीहरूबीच सहज वातावरण सिर्जना भइसकेको थियो। त्यही क्रममा कान्सका लागि पहिरन तयार गर्ने छलफल भयो। तर लुगाभन्दा चिन्ता उनीहरू दुवैलाई अर्कै थोकको थियो।
'फ्रान्सका लागि नेपालबाट भिसा पाइँदैन, भारतबाट लगाउनुपर्छ। त्यसैले सुरक्षाको भिसा लाग्छ कि लाग्दैन पक्का थिएन,' उनले भने, 'तर पनि पूर्ण तयारीका साथ बस्नुपर्छ भन्ने मलाई लाग्यो। भिसा समयमै आएन भने पनि कान्सका लागि तयार पारिएको थियो भन्दै फोटोसुट गर्ने योजना थियो।'
त्यसपछि तेन्जिङले सुरक्षालाई कुन रङ मन पर्छ भनेर सोधे।
सुरक्षाले भनिन्, 'रातो'।
रातोबाहेक अरू कुन रङ भनेर सोध्दा सुरक्षाले नीलो र हरियो भनिन्। उनीहरूले लुगाको आकारबारे पनि छलफल गरे। छलफल क्रममा सुरक्षाले आफ्नो शरीरलाई छुने खालको लुगा मन पर्ने बताइन्। छोटो समयमा सुरक्षाको रूचिलाई ध्यानमा राख्दै लुगा बनाउनु पर्ने चुनौती तेन्जिङलाई थियो।
सुरक्षाले 'तेन्जिङ, तिमीले मेरा लागि जे बनाउँछौ, त्यही लगाउँछु' भनिदिइन्। तेन्जिङ दंग परे। आफ्नो कला देखाउने अवसर थियो उनलाई।
'कान्सको रेड कार्पेटमा पहिलो पटक नेपाली अभिनेत्री जाने भएपछि एउटा इतिहास बन्दै थियो। त्यसैले पहिरनमार्फत नेपालीपन झल्काउनु पर्ने छुट्टै चुनौती भयो,' उनले भने, 'मैले कान्समा के-के हुन्छ भनेर खोजेको थिएँ। त्यहाँ डिजाइनरको नाम पनि भनेर बोलाइने रहेछ। त्यसैले अलिकति डर थियो।'
तेन्जिङका अनुसार सुरक्षालाई कान्सको निमन्त्रणा भए पनि रेड कार्पेटमा हिँड्न पाउने हो कि होइन भन्ने दुविधा पनि थियो। हिँडिहाले आफूले लगाएको लुगामा कस्तो प्रतिक्रिया आउँछ भन्ने सकसक पनि भइहाल्यो। विगत दस वर्षदेखि विभिन्न प्रकारका लुगा डिजाइन गर्दै आइरहेका तेन्जिङलाई कान्सका लागि भनेपछि बेचैनी नै भयो।
एक रातभर कस्तो लुगा बनाउने होला भन्ने सोचिरहे। नेपालको पहिचान झल्काउने बनाउन पाए हुन्थ्यो भन्ने भयो। सोच्दै गर्दा दिमागमा आयो नेपालको झन्डा। रातो रङ भएकाले सहज हुने थियो, सुरक्षाले चाहेकै रङ। झन्डाको नीलो रङ पनि मिश्रण गरौं कि भन्ने सोचे। पछि नेपालकै झन्डा बोकेर गएछ भन्ने आरोप नलागोस् भनेर राखेनन्।
रातो रङ शक्तिको प्रतीक हो। उनी भन्छन्, 'सुरक्षा एक शक्तिशाली अभिनेत्री हुन्। त्यसैले रातो रङ उनका लागि मिल्दो भयो।'
सुरूमा सुरक्षाले सारी लगाउने कि भनेर सोधेकी थिइन्।
'तर कान्समा विशेषगरी बलिउड अभिनेत्रीहरूले सारी लगाइसकेका भएकाले बलिउडकै रहेछ नभन्ठानून् भनेर त्यसमा गएनौं,' उनले भने, 'फेरि फ्रेन्च फिल्मका टोलीसँग जाने भएपछि उनीहरूको संस्कारलाई पनि सम्मान दिनुपर्ने थियो।'
अनि उनले पश्चिमा शैलीको पहिरनमा नेपालको छाप दिने पहिरन बनाए। कपडा रोजे सिल्क।
सुरक्षाले लगाएको पहिरनमा सात वटा मुजा राखिएको छ। यसले नेपालका सात प्रदेश दर्शाउने तेन्जिङले बताए।
'सात वटा मुजाबाट सात प्रदेश दर्शाउन खोजेको हुँ। त्यही सात प्रदेश हुँदै फक्रिएको फूलको आकार पनि दिएको छु,' उनले भने।
यो लुगा बनाउन तेन्जिङको पूरै टोलीले समय दिएको थियो। त्यसैले दुई दिनमै तयार भयो।
'कान्समा सुरक्षालाई साधारण नदेखियोस् भन्ने थियो। ए सुरक्षा कान्समा गयो र भन्ने नहोस् भनेर एकदमै सतर्क थिएँ,' उनले भने, 'उनले लगाएको पहिरन पनि विशेष होस् भन्ने थियो।'
नभन्दै तेन्जिङको मेहनत सुरक्षाको पहिरनमा झल्कियो। सुरक्षाले लगाएको त्यो पहिरनको देशभित्र त चर्चा भइहाल्यो, विदेशमा समेत यसले सम्मान पाएको छ।
'म आफ्नो काम सधैं मेहनतले गर्छु। यो लुगा तयार गर्न मैले दस वर्ष काम गरेभन्दा धेरै मेहनत गरेँ। मैले चाहेर पनि त्योभन्दा बढी गर्न सक्दिनँ थिएँ,' तेन्जिङले भने।
यो चर्चा र प्रशंसा बेलाबेलामा सपना हो कि भन्ने लाग्छ उनलाई।
'झल्याँस्स हुँदै विपनामै छु भन्ने महसुस गर्छु,' उनले खुसी हुँदै भने, 'यति ठूलो प्लेटर्फममा आफ्नो कला प्रस्तुत हुन्छ भनेर कहिल्यै सोचेकै थिइनँ। तर कहिलेकाहीँ नसोचेकै कुराहरू हुने रहेछ।'
भुटिया गान्तोक, सिक्किममा जन्मिएका हुन्। दिल्लीमा पढ्दै गर्दा उनलाई फेसनप्रति रूचि बढेको थियो। म्यागेजिनका कभरमा देखाइएका आकर्षक लुगाका डिजाइनले उनलाई आकर्षित गर्थ्यो। त्यसैले उनले फेसन डिजाइनिङ पढ्ने निर्णय गरे।
बैंगलोरको नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीमा पढेपछि उनी नेपाल आए। सन् २०१० मा मिस नेपाल सहाना बज्राचार्यका लागि लुगा डिजाइन गर्दै उनले औपचारिक रूपमा काम थाले। उनले पहिलोपटक ड्रेस स्टाइलिङ गरेको फिल्म 'भिसा गर्ल' हो।
दरबारमार्गमा 'तेन्जिङ छेतेन भुटिया कल्चर' नामक फेसन हाउस चलाइरहेका उनी आफूलाई स्वतन्त्र फेसन डिजाइनर भन्न रूचाउँछन्।
तेन्जिङले भने, 'मलाई पसल थापेर कपडा बेच्नु छैन। मलाई मेरो कलामा बनेको लुगा मान्छेहरूले लगाऊन् भन्ने लाग्छ।'
हेर्नुहोस् नेदरल्यान्ड्सको सञ्चारमाध्यमले तयार पारेको कान्स रेड कार्पेटमा आकर्षक पहिरन लगाउने १५ महिला सेलेब्रेटीः