गायक सुमन शेखर मानन्धरको स्वर रहेको उर्दु गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ।
आइतबार काठमाडौँमा एक कार्यक्रम गर्दै टी-सिरिजको अफिसियल च्यानलबाट गीत सार्वजनिक गरिएको हो।
राराको सुन्दर दृश्य रहेकाे भिडिओमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ। गीतले हिन्दी र उर्दुभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा निर्माण टोलीको छ।
गीतकार तथा संगीतकार इम्तियाज वफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने बताए।
त्यस्तै, कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका गायक सुमन शेखर मानन्धरले सोही बसाइले आफूलाई उर्दु गीत गजल र शायरीमा प्रेरित गरेकाे बताए।
‘यो गीत तयार गर्न हामीलाई तीन वर्ष लाग्यो। यो गीतले कम्तीमा पनि रारा ताल हेर्न आउने दर्शकमा वृद्धि हुने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘भावनाको अभिव्यक्तिसँगै संगीतलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने लागेर हामीले यो गीत हिन्दी र उर्दुमा तयार गरेका हौँ।’
उनको कुरामा सही थाप्दै निर्देशक जनकदीप पराजुलीले टी-सिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा व्यक्त गरे।
‘टी-सिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो। योसँगै गीतले पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो,’ पराजुलीले भने।
कार्यक्रममा गीतलाई शुभकामना दिन पुगेका वरिष्ठ फिल्मकर्मी नीर शाहले आफू पनि गीत संगीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखेका थिए।
‘कसैलाई लाग्ला हिन्दी गीतको किन यति चर्चा तर म भन्छु हामी उनीहरूको मनमा बस्ने उनीहरूकै भाषा र शैली प्रयोग गरेर बस्ने हो। यस्तो गर्दा कसैले अराष्ट्रिय भन्छ कि भन्ने पिर गर्नु पर्दैन,’ उनले भने।
सन्जिव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने गीतमा सम्पादन तथा भीएफएक्स धुव्रराज पराजुलीको रहेको छ ।